धनगढी । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज शुक्रबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । यसले गर्दा जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण ग्रामिण क्षेत्रमा यातायात आवागमनमा केही कठिनाइ भएको छ । अगाडिको दृश्य प्रष्ट नदेखिने भएकाले कतिपय सवारीसाधन बिहान उज्यालो हुँदासमेत लाइट बालेर हिँडिरहेका थिए ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा धनगढी सगै तराई–मधेसका धेरै स्थानमा हुस्सु लागेको छ । शनिबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ । त्यस्तै कैलालीको लम्कीमा शुक्रबार बिहान लागेको कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।