काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा उपस्थित भएका छन् । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी भएका हुन् । माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष बनाउने तयारीसमेत गरेको छ । पुन आफैंले पनि आफू सक्रिय राजनीतिमा आइसकेको र त्यसबारे द्विविधा नराख्न भनिरहेका छन् । उपराष्ट्रपति हुनुअघिसम्म पुन अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र थिए ।
पुनलाई पार्टीमा भित्र्याउँदा नेतृत्व समूहमा आफ्नो पक्ष बलियो हुने कारणले दाहालले उनलाई जिम्मेवारी दिन खोजेको बताइन्छ । दुई कार्यकाल उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन दलीय राजनीतिमा सक्रिय हुन थालेका हुन् । उनी पछिल्लो समय माओवादी पदाधिकारी बैठकमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आएका छन् ।
सशस्त्र द्वन्द्वका बेला नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चन्द्रदेव खनाल माओवादी लडाकुको डेपुटी कमान्डर थिए । २०२२ कात्तिक ७ गते राङ्सी रोल्पामा जन्मिएका नन्दबहादुर पुन २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गरे पनि कांग्रेसका गगन थापाबाट पराजित भएका थिए । उनी २०७२ कात्तिकदेखि २०७९ चैतसम्म उपराष्ट्रपति थिए । २०७९ चैतमा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनको पदावधि सकिएको थियो । यसयता डेढ वर्ष उनी कुनै राजनीतिक कार्यक्रम सहभागी भएका थिएनन् ।
पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिहरू राजनीतिक दलमा सक्रिय हुन संवैधानिक र कानुनी बन्देज भने छैन । तर राज्यको सर्वोच्च पदमा पुगिसकेका व्यक्तिहरू पुनस् कुनै दल विशेषमा सक्रिय हुने कुरा व्यक्तिको नैतिकता र जिम्मवारीबोधसँग जोडिने विषय भएको राजनीतिक विश्लेशकहरू बताउँछन् ।