धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पाँच हजार किलोमिटर बराबरको सडक निर्माण गर्न गुरुयोजना तयार गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात पूर्वाधार निर्देशनालयसहितका निकायसँगको समन्वयमा प्रदेशका नौवटै जिल्लामा पाँच हजार किलोमिटर बराबरका एक सय ६६ वटा सडकको गुरुयोजना तयार पारेको हो ।
सरकारले बनाएको गुरुयोजनाअनुसार प्रदेश लोकमार्ग र प्रदेश सहायक लोकमार्गको पहिचान गर्दै वर्गीकरण गरिएको छ । दूरीका हिसाबले सबैभन्दा धेरै अछाममा ७७२ किलोमिटर लम्बाइका १९ वटा योजना छनोट गरिएको छ ।
बैतडीमा ७१२ किलोमिटर बराबरका २६, बझाङमा ६४८ किलोमिटरका १९, डोटीमा ६१७ किलोमिटरका १५, कैलाली ५५६ किलोमिटरका २३, बाजुरामा ४८९ किलोमिटरका २०, डडेल्धुरामा ४७९ किलोमिटरका १३, दार्चुलामा ४४२ किलोमिटरका १७ र कञ्चनपुरमा २७९ किलोमिटरका १४ योजना परेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गुरुयोजनाअन्तर्गत छनौट गरेका सडक प्रदेश सरकारबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरी पाँचदेखि १० वर्षमा प्राथमिकताका आधारमा निर्माण गरिसक्नुपर्नेछ । गुरुयोजनाअन्तर्गत छनौटमा परेका सडकका विषयमा यातायात पूर्वाधार निर्देशनालयले बिहीबार धनगढीमा कार्यशाला गोष्ठीसमेत सम्पन्न गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका सदस्यलगायतका सरोकारवाला पक्षको सहभागितामा भएको कार्यशाला गोष्ठीमा प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा परेका सडकको विवरण सार्वजनिक गर्दै सुझाव मागिएको थियो ।
सो क्रममा प्रदेश सभा सदस्यहरुले गुरुयोजना तयार गर्ने क्रममा सम्बन्धित क्षेत्रका प्रदेश सभा सदस्यसँग परामर्श नगरिएको भन्दै अब भने आफ्ना सुझावलाई स्थान दिन माग गरेका छन् ।
कार्यशाला गोष्ठीमा उठेका प्रश्नको जवाफ दिदै भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले सबैसँगको परामर्श र सुझावका आधारमा गुरुयोजनालाई अन्तिम रूप दिइने जानकारी दिए। प्रदेश सभा सदस्यहरूसँगको छलफलका आधारमा गुरुयोजनामा परेका सडक पूर्वाधारका योजना थपघट गर्न सकिने बताउँदै मन्त्री पालले चाडै गुरुयोजना तयार गर्नुपर्ने उल्लेख गरे।