काठमाडौँ: सरकारले सुकुम्बासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी प्रबन्ध गर्नुपर्ने कांग्रेसका सांसद बीरबहादुर बलायरले बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा सांसद बलायरले सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । भुमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकमा सांसद बलायरले तराई-मधेस, पहाड र हिमालमा रहेका सबै सुकुम्बासीलाई जग्गा दिनुपर्ने बताए । उनले प्रस्ताव राखे, ुभूमिहीन सुकुम्बासीलाई दिइएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छ ।
यसअघि जग्गा दिएपछि त्यो बेचेर फेरि सुकुम्बासीमै सूचीकृत भएको भन्ने पाइएकाले त्यस्तो कानुनी व्यवस्था गर्नुपर्ने र कडाइका साथ पालना गर्नुपर्ने बलायरको भनाइ थियो । त्यस्तै, तराईमा मात्रै नभएर पहाडका ९० प्रतिशत दलित जनसंख्या भूमिहीन रहेको बलायरको भनाइ थियो । उनीहरूका लागि पनि जग्गाको व्यवस्था हुनुपर्ने उनले बताए । भूमि आयोगले आगामी १ वर्षभित्र १ लाख लालपूर्जा बाँड्ने तयारी भइरहेको जानकारी दिएको छ । भूमि मन्त्रालयले भने पटक-पटक भूमि आयोग गठन गर्दा पनि समस्या समाधान नभएको बताए ।