धनगढी: अब धनगढीमै पुल पार्कको मजा लिन पाइने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरमा ‘स्नुकर एण्ड पुल पार्क’ सञ्चालनमा आएको छ । शिवनगरमा आरडीएसएस स्नुकर एण्ड पुल पार्क सञ्चालनमा आएको हो । सो पार्कको बुधबार वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै वडा अध्यक्ष मुडभरीले यस पार्कबाट उपमहानगर भित्र आर्थिक गतिबिधि बढ्ने अपेक्षा लिए । यसका साथै पुललाई खेल पर्यटनका रुपमा समेत बिकास गर्न सकिने उनको भनाई थियो । लागु औषध जस्ता कुलतमा फसिरहेका युवाहरुलाई समेत पुल खेल तर्फ आकर्षण गर्न सके कुलतबाट जोगाउन सकिने उनको भनाई थियो ।
पार्कका सञ्चालक ललित चन्दले स्नुकर खेलाडी उत्पादन गर्ने उद्धेश्यले आफूहरुले हाल पुल सञ्चालनमा ल्याएको बताए । स्नुकर राष्ट्रिय खेल भएको बताउँदै उनले यस प्रदेशबाट पनि खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए । उनले अहिले साधारण स्नुकर पुल मात्रै सञ्चालनमा ल्याएको बताउँदै केही समयमा स्नुकर पनि सञ्चालनमा ल्याउने जानकारी दिए । साथै उनले युवाहरुलाई खेलकुदतिर आकर्षण गर्ने र बालबालिका तथा अभिभावकलाई रमाइलोका लागि पनि यो खेलले सहयोग पुग्ने बताए ।
सञ्चालक चन्दका अनुसार अहिले एउटा खेलको ५० रुपैयाँ निर्धारण गरिएको छ । साथै उनले स्केटिङ पनि सञ्चालमा आएको बताए । स्केटिङको मूल्य प्रति घण्टा दुई सय तोकिएको जानकारी दिए ।