बाजुरा: बाजुरामा पुस १५ मनाउने प्रचलन कायमै छ । यहाँका महिला तथा किशोरीले पुस १५ को राति चामल पिसेर बनाएको ढुकढुक्या (एक प्रकारको रोटी) बनाउने गर्छन् । पुस १५ को राति यो रोटी खाएर रातभर जाग्राम बस्ने गरिन्छ । त्यसका लागि नजिकका इष्टमित्रलाई बोलाएर ढुकढुक्या रोटी दिने गर्दछन् ।
पाहुनाले पनि यो रोटी खाँदै विभिन्न प्रकारका कथा, कविता, देउडा भन्ने र रोटी दिएको थालीमा पैसा राखिदिने गर्दछन् । ढुकढुक्या रोटीसँगै तरुल, पिँडालु, फर्सी पनि उसिनेर खाने चलन छ । यहाँका महिला तथा किशोरीका लागि पुस १५ लाई विशेष पर्वका रूपमा लिने गरेको बुढीगङ्गा–१० की स्थानीय गौमती सार्कीले बताइन्। उनले भनिन्, “पुस १५ मा हामी आफ्ना इष्टमित्र तथा मान्यवरलाई ढुकढुक्या रोटीले स्वागत गर्ने गर्छौं ।”
मान्यवरबाट पैसा लिने लोभ मात्र नभएर उनीहरूबाट विभिन्न प्रकारका पुराना इतिहासका कथा कुराको जानकारी लिन समेत पुस १५ मनाउने गरेको सार्कीले बताउनुभयो । जिल्लाको बुढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिकालगायतका विभिन्न गाउँबस्तीमा यो पुस १५ लाई भव्य रूपमा मनाउने चलन छ । पुस १५ देखि दिन लामो र रात छोटिँदै जाने गर्छ । यही लामो रातमध्येको यो अन्तिम रात भएकाले यसलाई जाग्राम रहेर बिदा गर्ने प्रचलन भएकोले अहिलेका पुस्ताले पनि पुस १५ भनेर पर्वकै रूपमा मनाउने गरेको छ ।