कञ्चनपुर: दक्षिण भेगमा पर्ने बेलौरी नगरपालिका–७ ठूलो सिंहपुरकी दिलमाया चौधरी व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययनरत छिन् । बेलौरी बहुमुखी क्याम्पसमा दोस्रो वर्षमा अध्ययन गरिरहेकी उनी केही महिनायता चरा अवलोकनमा जोडिएकी छन् । नेपाल पन्छी संरक्षण संघले चरासम्बन्धी तालिम दिएपछि उनी ५ महिनादेखि चरा अवलोकनमा जोडिएकी हुन् । अहिले आफूसँगै पढिरहेका र अन्य कक्षाका साथीभाइसँगै हरेक शनिबार तथा बिदाका दिन चरा अवलोकनका लागि आसपासका तालतलैया, सीमसार क्षेत्र र नदीनाला किनारमा पुग्छिन् । उनले चरा चिन्ने र तिनको आनीबानीबारे पनि थाहा पाउने प्रयास गरिरहेकी छिन् । चौधरीको घर चराको मुख्य बासस्थान मानिने पुरैनी तालनजिकै हो । चराको राम्रो बासस्थान मानिने नकैया सीमसार क्षेत्र पनि उनको घरबाट नजिकै पर्छ । ‘घर छेउमै चराको बासस्थान थियो, तर हामीलाई केही थाहा थिएन,’ चौधरी भन्छिन्, ‘तालिम पाएपछि अवलोकन गर्दै जाँदा चराको संसार त अहिले बुझ्न थाल्यौं ।’
शनिबार वा बिदाको अघिल्लो दिन चरा अवलोकनका लागि कुन क्षेत्रमा जाने भनेर साथीभाइबीच सल्लाह हुन्छ । त्यही अनुसार सबै जना बिहानै उक्त क्षेत्रमा पुग्छन् । तीनरचार घण्टा चरा अवलोकनपछि सबै घर फर्कन्छन् । जिल्लाको दक्षिणी क्षेत्रमा रहेका पुरैनी, बण्डा र कालीकीच ताल तथा नकैया र बढैया सीमसार क्षेत्रसँगै खप्टी नालालगायत सामुदायिक वनभित्रका तालहरूमा नियमित रुपमा चराको अवलोकन भइरहेको छ । यसमा ११र१२ कक्षा र स्नातक तहमा अध्ययनरत छात्रछात्रा जेडिएका छन् । उनीहरू स्वयंसेवी रुपमा चरा अवलोकनमा जोडिएका हुन् । ‘हामीले देख्दै आएका चरा पनि राम्ररी चिनेका थिएनौं, तर अहिले बिस्तारै चिन्न थाल्यौं,’ बेलौरी नगरपालिका–७ ठूलो सिंहपुरका सन्देश चौधरीले भने, ‘चराको वैज्ञानिक नामदेखि उनीहरूको वासस्थान र आनीबानी पनि थाहा पाउन थालेका छौं ।’ उनी पनि व्यवस्थापन विषय लिएर कक्षा १२ मा अध्ययनरत छन् ।
चरा संरक्षणसँगै यसबारे जनचेतना फैलाउन समेत उनीहरू जुटेका छन् । ग्रामीण भेगमा पन्छीहरू मार्ने गरेको पाइन्छ । जसका कारण दुर्लभ चरा लोप हुने अवस्थामा पुगेका छन् । यसबारे पनि सबैलाई सचेत बनाउन अभियान सुरु गरिएको पन्छी संरक्षण संघ कञ्चनपुरका जिल्ला अध्यक्षसमेत रहेका चौधरीले बताए । उनका अनुसार पछिल्लो ५ महिनादेखि विभिन्न तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूले नियमित रुपमा चराको अवलोकन गरिरहेका छन् । हरेक दिन ३०र४० जनाको संख्यामा तालतलैया आसपास समूह बनाएर अवलोकन गर्ने गरेको उनले बताए ।
‘चराको राम्रो बासस्थान त पुरैनी ताल रहेछ, यहाँ एकै दिनमा एकै समयमा ६४ चरा भेटिएका छन्,’ चौधरीले भने, ‘अन्य तालहरूमा पनि चराको उपस्थिति राम्रै देखिएको छ ।’ उनका अनुसार नकैया सीमसार क्षेत्रमा पनि ५० देखि ५५ सम्म चराहरू देखिएका छन् । बण्डा ताल, कालीकीच ताल लगायत खप्टी नालामा पनि चराको संख्या निकै राम्रो देखिएको उनले बताए ।
चरा अवलोकन गर्न थालेपछि यसमै रमाउन थालिएको बेलौरीकै संजीव चौधरी बताउँछन् । उनी पनि १२ कक्षामै अध्ययनरत छन् । ‘अवलोकन गर्दा गर्दै चरा चिन्न थालेका छौं,’ उनले भने, ‘हरेक शनिबार चरा खोज्दै ताल तलैया चाहर्छौं ।’ चरा अवलोकनले मनोरञ्जनसँगै आफ्नो आनीबानीसमेत परिवर्तन भएको उनले बताए ।
‘अहिले चरा अवलोकनको संस्कृति बढ्दै गएको छ,’ नेपाल पन्छी संरक्षण संघका प्राविधिक हिरुलाल डगौराले भने, ‘उच्च माध्यमिक तह र स्नातक तहमा अध्ययनरत छात्र छात्राहरू यसप्रति निकै आकर्षित भएका छन् ।’ उनका अनुसार पन्छी संरक्षण संघले चरा अवलोकन र संरक्षणसम्बन्धी तालिम दिएपछि उनीहरू यसमा जोडिएका हुन् । अहिले उनीहरू ग्रामीण भेगदेखि वन जंगलमा रहेका ताल तलैया, सीमसार क्षेत्र र नदी नालाहरू खोज्दै चरा अवलोकनमा जुटेको उनले बताए । यसले चराको पहिचानसँगै संरक्षणमा समेत योगदान पुग्ने उनको बुझाइ छ । पन्छी संरक्षण संघको उद्देश्य पनि यही नै भएको उनी बताउँछन् ।