धनगढी । कैलालीको अत्तरियमा २०६७ मा स्थापना भएको दुग्ध प्रशोधन कारखाना धनगढी सार्ने तयारी गरिएको छ । दुग्ध विकास संस्थान डिडिसी मार्फत सञ्चालित कार्यालय र कारखाना स्थानिय सँग कुनै छलफल नै नगरी धनगढीमा सार्ने तयारी गरिएको हो । कार्यालय धनगढीमा सार्ने तयारी गरेको सुनेपछि सोमबार स्थानीय र विभिन्न राजनीतिक दलका प्रतिनिधि दुग्ध विकास संस्थानको कार्यालय अत्तरियामा पुगेर थिए ।
आयोजनाका प्रमुख निरन्जन भट्टराइले दुग्ध प्रसोधन कारखानको स्थायीत्व र विस्तारका लागि जग्गाको खोजी गर्दा धनगढीमा पाइएपछि सार्ने तयारी गरिएको बताए । उनले अत्तरियामा ठाउँ कम भएका कारण सार्नुपर्ने बाद्यता रहेको बताए । यस क्षेत्रमा जग्गा खोजीका लागि पहल गर्दा नगरपालिकाले खासै चासो नदिएपछि छिमेकका पालिकामा जग्गाको खोजीका लागि गएको उनको भनाइ छ ।
आयोजना प्रमुख भट्टराइले धनगढीमा जग्गाको खोजीका लागि जाँदा धनगढीका मेयर गोपाल हमालले वडा नम्बर १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमा राख्न सकिने सहमती जनाएको बताए । उनले उक्त ठाउँमा सबै कुरा मिलेको भएकाले आफूहहरुले सञ्चालक समितिको निर्णय गरेर प्रक्रिया अगाडि बढाएको बताए । स्थानीयले भने दुग्ध विकास संस्थान धनगढी सार्न खोजेको भन्दै चर्को विरोध गरेका छन । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति ललित रोकायाले अत्तरिया स्थापना गरिएको दुग्ध विकास संस्थान सार्ने कुरा सह्यै नहुने बताए । उनले सस्थानका लागि चाहिने जग्गा यसै क्षेत्रमा उपलब्ध गराउने बताउँदै सार्ने प्रक्रिया रोक्न आग्रह गरे
नेपाली कांग्रेसकै युवा नेता लोक राज पाण्डेले १५ वर्ष अघि नै स्थानीयले कोल्ड स्टोर र दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि हाट बजारलाई जग्गा दिएकोमा अहिले आएर सार्न खोज्नु उपयुक्त नभएको बताए । चाहना सामुदायिक वनका अध्यक्ष भीम बिकले दुग्ध संस्थान स्थापना गर्ने भनेपछि पहिले पनि जग्गा दिएर स्थापना गरेको बताउँदै थप जग्गा पनि दिन आफूहरु तयार रहेको बताए । उनले यस क्षेत्रमा धेरै लगानी गरेर स्थापना गरेको संस्थानमा धेरै स्थानीयले रोजगारी पाएको अवस्थामा सार्न नहुने बताए ।
गोदावरी नगरपालिकाका प्रवक्ता गोपाद दत्त भट्टले दुग्ध विकास सस्थान सार्ने प्रक्रियालाई रोकेर यसै क्षेत्रमा जग्गा दिने गरी छलफल अगाडि बढेको बताए । उनले नगरप्रमुख जिल्ला बाहिर रहेकाले नगरप्रमुख आउने बितिकै यस बिषयमा छलफल गरेर अगाडि बढ्ने बताए ।
अहिले डिडिसी अत्तरियामा रहेको कृषि उपज थोक बजारलाई मासिक २५ हजार ६८० रुपैयाँ भाडा तिरेर सञ्चालनमा रहेको छ । डिडिसीले हाल कैलाली सहित कञ्चनपुर र डडेल्धुराको आलितालका गरी करीब ६ हजार किसानको दुध संकलन गर्दै आएको छ । यस्तै उत्पादिन दुग्धजन्य पदार्थ दिपायल, डडेल्धुरा, अत्तरिया, धनगढी, टीकापुरमा बिक्री गर्दै आएको छ ।
आयोजना प्रमुख भट्टराइले पनि हाल महेन्द्रनगरमा पनि बजार विस्तारको तयारी भइरहेको बताए । उनले अनुसार हाल डिडिसी अत्तरियामा प्रत्यक्ष रुपमा ३० जना १६ जना करार, १४ जना स्थायी० ले रोजगारी पाएका छन । उनले कारखानामा दुध, दहि, घिउ, पनिर, लस्सी उत्पादन हुने गरेको बताए । निकट भविष्यमा आइसक्रिम पनि उत्पादन गर्ने योजना रहेको उनले बताए ।