अछाम: तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ। निर्माण सुरु भएको ३२ वर्षपछि परीक्षण उडानका लागि तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले जहाज उडाएका हुन् । कमलबजार विमानस्थलमा सफल परीक्षण उडानपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शनिबार नै उद्घाटन गर्ने कार्यक्रम छ ।
२०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै बन्द भएको थियो। निर्माण सुरु भएको लामो समयसम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०र०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो। परीक्षण उडानको तयारी भएपछि एक महिना पहिले विमानस्थलको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समेत अनुगमन गरेका थिए ।
कमलबजार विमानस्थलको निर्माण कार्य २०४९ सालमा सुरु गरिएको थियो। २०४८ सालमा ४ करोड ६३ लाख रुपैयाँको लागतमा निर्माण गर्ने इस्टिमेट गरिएको यो परियोजनामा प्रारम्भिक चरणमै २ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो। विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दाले यसलाई गाईबस्तु चराउने गौचरन, पार्टी कार्यक्रम तथा खेलकुद गतिविधिका लागि प्रयोग गर्दै आएका थिए । कमलबजार विमानस्थलको परीक्षण उडान सफल भएपछि यस क्षेत्रको यातायात सुविधा सहज हुने र आर्थिक विकासका लागि नयाँ आयामहरू खुल्ने विश्वास गरिएको छ । विमानस्थल सञ्चालनले अछामसहित सुदूरपश्चिमको पर्यटन, व्यापार र यातायात क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको छ ।