जन्डिस भनेको के हो ?
जन्डिस अर्थात पीलिया जुन छाला, आँखा र मुखको भित्री भाग पहेंलो हुने अवस्थालाई जनाउँछ, प्रायःजन्डिस लाई रोगको रूपमा बुझ्ने गरिन्छ तर चिकित्सकहरू भन्छन् कि जन्डिस कुनै रोग होइन, यो त शरीरमा भएका कुनै गम्भीर समस्याको संकेत गर्ने एक लक्षण हो। यसबारे सही जानकारीले रोगको सही निदान र उपचारमा सहयोग पुर्याउन सक्छ।
जन्डिसमा शरीर किन पहेँलो हुन्छ ?
शरीरमा बिल्लिरुबिन नामक रसायनको मात्रा बढी हुने अवस्था हो। बिल्लिरुबिन रातो रगतको कोषिका टुट्दा बन्ने पहेँलो पदार्थ हो। सामान्य अवस्थामा यो कलेजो मा प्रशोधन भएर पित्तनलीको माध्यमबाट शरीरबाट बाहिर जान्छ। तर, कलेजोले यो प्रक्रिया प्रभावकारी रूपमा काम गर्न नसक्दा शरीरमा बिल्लिरुबिन धेरै मात्रा मा जम्मा हुन्छ, जसले गर्दा छाला र आँखा पहेँलो देखिन्छ।
जन्डिस के कारणले हुन्छ ?
जन्डिस मुख्य कारणहरूलाई तीन भागमा वर्गीकृत गर्न सकिन्छ:
१. कलेजो भन्दा अगाडिका कारणहरू (प्रि हेपाटिक): मलेरिया, सिकल सेल एनेमिया जस्ता रोगले रातो रक्तकोशिका तीव्र रूपमा टुट्दा।
२.कलेजो सम्बन्धी कारणहरू (हेपाटिक): हेपाटाइटिस, सिरोसिस, वा मादक पदार्थ सेवनबाट कलेजो क्षति हुँदा।
३. कलेजो पछिका कारणहरू (पोस्ट-हेपाटिक): पित्तनलीमा अवरोध, जस्तै पत्थरी वा ट्युमर, जसले बिल्लिरुबिन बाहिर जान रोक्छ।
मिथक र भ्रम
धेरैजसो मानिसले जन्डिसलाई एउटा छुट्टै रोग ठान्छन्। यसले गर्दा मानिसहरू मुख्य समस्याको उपचार नगरी जन्डिस लाई मात्रै हटाउन खोज्छन् र जथाभाबी औषधी तथा जडिबुटी को प्रयोगले स्वास्थ्यमा थप जटिलता ल्याउन सक्छ। यो बुझ्नु महत्त्वपूर्ण छ कि जन्डिस कुनै रोगको चेतावनी हो, जुन रातो रगत, कलेजो वा पाचन प्रणालीसँग सम्बन्धित गम्भीर समस्याबाट उत्पन्न हुने गर्छ।
लक्षणहरू
छाला र आँखा पहेँलो हुनुका साथै थकान धेरै हुने, गाढा रङको पिसाब, हल्का रङको दिसा, छाला चिलाउने समस्या, पेट दुख्ने जस्ता लक्षणहरू देखिन्छ । यी लक्षणहरू देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनु जरूरी छ।
निदान र उपचार
जन्डिसको मुख्य कारण पत्ता लगाउन रगत परीक्षण,कलेजोको परीक्षण र भिडियो एक्सरे जाँच गरिन्छ। उपचार बिधि बिभिन्न रोगका कारण अनुसार गरिन्छ:
हेपाटाइटिस जस्ता सङ्क्रमणमा औषधि प्रयोग गरिन्छ।
पत्थरी वा ट्युमर भएमा शल्यक्रिया गर्नुपर्छ।
एनेमिया भएमा रगत चढाउनु पर्छ।
रोकथाम र सचेतना
स्वस्थ जीवनशैली अपनाउनु नै जन्डिस हुने समस्याबाट जोगिनु मुख्य उपाय हो। सन्तुलित आहार, नियमित व्यायाम, मादक पदार्थको सेवन कम गर्नु र औषधि वा जडिबुटी को अनावश्यक प्रयोग नगर्नु नै कलेजो लाई स्वस्थ राख्न मद्दत गर्दछ। जन्डिस रोग नभएर लक्षण मात्र हो भन्ने बुझ्नु स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण छ। यदि तपाईँ वा तपाईँको आफन्तमा येस्तो संकेत देखिन्छ भने डाक्टरसँग परामर्श लिनुहोस् । समयमै उपचार गर्दा गम्भीर समस्याबाट बच्न सकिन्छ।
लेखक:
डा.सुमन चौधरी
कन्सल्टेन्ट फिजिसियन
संजीवनी अस्पताल धनगढी