बाजुरा: वर्षामा सडकको पहुँचबाट पूरै बाहिर हुने बाजुराको त्रिवेणी नगरपालिका हिउँदका चार महिनामा भने बुढीगंगा नदीसँगै मिसिएका मौरे खोला, बल्दे खोला र मालागाड खोलामा काठको कच्ची पुल बनाएर गाडी वारपार गराउन थालेको करिब ७ वर्ष भइसकेको छ । नगरपालिका नै भए पनि यहाँ रहेका ९ वडा पूर्ण रूपमा सडकको पहुँचमा पुग्न सकेका छैनन् । बुढीगंगा नगरपालिका पट्टीबाट त्रिवेणी नगरपालिका जानका लागि अहिलेसम्म मोटरेबल पुल बन्न सकेको छैन । तर नगरपालिकाले यी तीन स्थानबाट त्रिवेणीसम्म गाडी लैजानका लागि प्रत्येक वर्ष ३० लाख बजेट खर्च गरेर तीन ठाउँमा काठका पुल बनाएर गाडी तार्ने अभ्यास गर्दै आएको छ ।
प्रत्येक वर्ष एक हिउँदमा काठको पुल बनाउने, वर्षामा नदीमा आएको भेलले बगाउने गर्छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब आठ वर्षमा नै काठको कच्ची पुल बनाएर जबरजस्त सडकको पहुँचमा त्रिवेणीलाई पुर्याइरहेको नगरपालिका बाजुराका प्रमुख कर्णबहादुर थापाले बताए । ‘हिउँदमा मौरै, बल्दे र मालागाडमा गाडी तार्ने कच्ची पुल बनाउनका लागि ३० लाख बजेट विनियोजन गर्छौं । वर्षा लाग्ने बित्तिकै यी तीनै ठाउँमा बनाइएका कच्ची पुल भेलले बग्छन्,’ नगर प्रमुख थापाले भने, ‘स्थानीय तहले ७ वर्षदेखि ३० लाखका दरले करिब २ करोड १० लाख बजेटबाट कच्ची काठे पुल बनाइसकेको छ । वर्षा लागेसँगै यो बजेट बुढीगंगा नदीमा मिसिन्छ ।’
त्रिवेणी नगरपालिका–८ मौरेमा रहेको बुढीगंगा नदीमाथि मोटरेबल पुल बनाउने ठेक्का तीन वर्षअगाडि लागे पनि अहिलेसम्म ठेकेदारले काम सुरु नगरेको थापाले बताए । उनका अनुसार सडक विभागअन्तर्गत महाकाली पुल आयोजनामार्फत पक्की पुलको ठेक्का बिकोइ बिल्डर्स प्रालिले पाएको थियो । १६ करोड रुपैयाँमा ठेक्का सम्झौता भई तीन वर्षअघि नै पेस्कीबापत १ करोड ४० लाख रुपैयाँ ठेकेदारले भुक्तानी लिइसकेको नगर प्रमुख थापाले बताए ।
‘स्थानीय तहको बजेटले मोटरेबल पुल आफ्नै बजेटबाट निर्माण गर्न सक्दैन । हामीले सक्ने भनेको यसैगरी काठको कच्ची पुल बनाएर गाडी आउन सहज बनाउने हो । जोखिमयुक्त भए पनि हामीले बनाइरहेका छौं,’ उनले भने, ‘नगर प्रमुखको उम्मेदवार भएका बेला त्रिवेणी नगरपालिकालाई मोटरेबल पुलसँग जोड्ने पहिलो प्राथमिकता रहेको भनेर एजेण्डा बनाइयो । ठेक्का लागिसक्दा पनि ठेकेदारको लापरबाहीले काम सुरु हुन सकेको छैन । अहिले मेरा लागि पनि टाउको दुःखाइको विषय बनिरहेको छ ।’ काठबाट बनाइएको पुलबाट गाडी वारपार गराउँदा सधैं जोखिममा रहेको उनले बताए ।
हिउँदमा जोखिम मोलेर काठको पुलबाट गाडी वारपार गराउने र वर्षामा सडकको पहुँचबाट त्रिवेणीबासी बाहिर हुने गरेको त्रिवेणी नगरपालिका–७ का स्थानीय निरज ऐडीले बताए । ‘त्रिवेणीलाई मोटरेबल पुल बनाएर सडकको पहुँचमा पुर्याउने कुरा धेरै पहिलेदेखि चल्दै आएको हो । अहिलेसम्म पुल बन्ने कुनै सुरसार छैन,’ उनले भने, ‘कच्ची पुलबाट अहिले पनि मालवाहक गाडी जान सक्दैनन् । बोलेरो जिप स्कारपियो गाडी जोखिम मोलेर त्रिवेणी जान्छन् । हामी धेरै मारमा परेका छौं ।’ यसैले गर्दा मालबाहक गाडीले बोक्ने सामान भरिया लगाएर बोक्नु पर्छ । मान्छेबाट बोकाएर सामान लैजाँदा महँगी बढ्ने नै भयो । ५० केजीको सामान भरियाले बोकेर लैजाँदा गाउँमा व्यापार गर्नेले त्यसमा कम्तीमा पनि सय रुपैयाँ बढाएकै हुन्छन् । यो स्थानीय व्यापारीको बाध्यता पनि हो ।
सहज सडकको पहुँचमा त्रिवेणी नगरबासी नहुँदा यसको मारमा गर्भवती, सुत्केरी र वृद्धवृद्धा बढी परेको त्रिवेणी नगरपालिका–७ मा रहेको कैलाशमाण्डौं स्वास्थ्य चौकीकी अनमि रूपा चौधरीले बताइन् । हिउँदमा काठको कच्ची पुल तरेर आएका गाडीले बाटो अप्ठ्यारो भएको भन्दै महँगो भाडा भन्ने भएकाले जिल्ला अस्पतालमा आपतकालीन रेफर गर्नुपर्ने केसहरूले जहिले पनि जोखिम मोल्नु परेको उनले बताइन् । ‘इमर्जेन्सी केसहरू रिफर गर्दा वर्षामा एकदमै गाह्रो हुन्छ । यहाँबाट बाम्कासम्म स्टेचरमा बोकेर लैजानु पर्छ । यति लामो बाटोमा स्टेचरबाट बोकेर लैजान ८र९ जना मान्छे चाहिन्छन् । कहिलेकाहीँ बोकी दिने मान्छे नभेट्टाउँदा धेरै गाह्रो हुन्छ,’ उनले भनिन् ।
केही समयअगाडि स्वास्थ्य चौकीमा वर्षायामको समयमा आएको प्रसूति ‘केस’लाई जिल्ला अस्पताल बाजुरासम्म पठाउँदा धेरै गाह्रो भएको उनले सम्झिन् । ‘वर्षाको समय थियो, स्वास्थ्य चौकीमा डेलिभरी गराउन नसक्ने केस आयो । जिल्ला अस्तालमा पठाउनुपर्ने भयो । गाडी नचल्ने भएकाले बोकेरै लैजानु पर्यो,’ उनले भनिन्, ‘धेरै जोखिम मोलेर जिल्ला अस्पतालमा पुर्याएको हो । भगवान् भरोसा गरेर लगेका थियौं । जे होस्, सकुशल डेलिभरी भयो ।’कान्तिपुरबाट