धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले औषधि तथा स्वास्थ्य सामाग्री भण्डारणको अत्याधुनिक भवन वेयर हाउस को उद्घाटन गरेका छन् । प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका १ बिजौरामा ग्लोबल फण्ड अन्तर्गत सेभ द चिल्ड्रेनले भवन र उपकरणसहित ४ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण गरेको हो ।
उद्घाटन समारोहमा सेभ द चिल्ड्रेनले २८ लाख बराबरको उपकरणसमेत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शाहले पहिलो कार्यकालमा २०८० चैत्रमा शिलान्यास गरेको उक्त वेयर हाउस निर्माण सम्पन्नपश्चात सेभ द चिल्ड्रेनले सामाजिक बिकास मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहले सीमित श्रोत र साधन भए पनि स्वास्थ्यलाई प्राथमिकता दिइएको र बिकास साझेदार संस्थाले गरिरहेको सहयोगले संघीयता अगाडि बढाउनमा सहयोग पुगिरहेको बताए ।
उनले भने, ‘स्वास्थ्य उपकरण सामाग्रीको आवश्यकता र औचित्यका आधारमा बितरण गर्नुपर्छ ।’ त्यसैगरी, सामाजिक बिकास मन्त्री मेघराज खड्काले प्रदेशको स्वास्थ्य अवस्था सुधारमा एउटा इँट्टा थपिएको बताए ।