काठमाडौँ : पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेका तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको छ । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई भने जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको छ ।
आफू पार्टी विधिविपरीत गएको महसुस नगरेका कारण उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘केन्द्रीय कार्यालयको भवन निर्माणलाई लिएर गरिएको सार्वजनिक टिप्पणी प्रक्रियासम्मत देखिएन । यसरी विधिबाहिर गएर सार्वजनिक रूपमा बोल्नु उचित भएन भन्ने महसुस गरेको पनि देखिएन,’ उनले भने, ‘कमरेड विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई पार्टी निर्देशनमा चल्ने गरी जिम्मेवारीबाट ६ महिना मुक्त गर्ने निर्णय भएको छ ।’
अर्का नेता रावलले भने पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएकाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको ज्ञवालीले बताए । दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका रावल वैधानिक व्यवस्थाअनुसार सल्लाहकार भए पनि त्यहीअनुसार काम नगरेको ज्ञवालीले बताए । विवादास्पद व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गर्ने र त्यसमा गुरुङले नै एमाले मुख्यालय बनाइदिने भएपछि पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले विरोध गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले कीर्तिपुर–२ मैत्रीनगरमा गत असोज २५ मा पार्टी मुख्यालय भवन शिलान्यास गरेका थिए ।
त्यसमा रावल, पाण्डे र तिम्सेनाले सार्वजनिक रूपमा आलोचना गरेपछि एमालेले पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिम्सेनाले पार्टीले आफैं केन्द्रीय कार्यालय बनाउने निर्णय गरिसकेको अवस्थामा दानबाट निर्माण गर्नु गलत हुने भन्दै स्पष्टीकरण दिएका थिए । रावलले भने स्पष्टीकरण बुझाएका थिएनन् ।