धनगढी: कैलालीको चिसापानी(राजकाँडा जालपा देवी केबलकारको शिलान्यास पुस १३ गते हुने भएको छ । शिलान्यास कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवा, उद्योग मन्त्री दामोदर भण्डारी, पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरी लगायतको सहभागिता रहने आयोजकले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । पत्रकारहरूको प्रश्नको जवाफ दिँदै केबलकारका सञ्चालक सूर्यबहादुर थापाले केबलकार सुदूरपश्चिम प्रदेशको पर्यटन विकासको मेरुदण्ड बन्ने बताए । “हामीले हजार जनालाई प्रत्यक्ष रोजगारीमा जोड्ने योजना बनाएका छौ । बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीमा मिनी पानी जहाज, रारा ताल, टिकापुरपार्क, रामारोशन जस्ता पर्यटकीय क्षेत्रहरूलाई सँगै जोडेर अघि बढ्छौ ।” उनले भने ।
भारतको उत्तर प्रदेशका जनताको आवागमनलाई जोड दिएमा मात्रै पनि सुदूरपश्चिम पर्यटनको हब बन्ने उनको दाबी छ । पुस १३ गते शिलान्यास गरि एक वर्ष भित्र केबलकार सञ्चालन गर्ने बताइएको छ ।