धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समाजलाई नैतिकवान बनाउने सन्दर्भमा पुस्तकले महत्व राख्ने बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको धनगढीमा आयोजित ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ को मंगलबार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘समाज परिवर्तनका लागि पनि पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पुस्तक भन्दाखेरी सामान्य ज्ञानका रुपमा विद्यालयमा लिइने शिक्षासँग जोडिने कुरामा मात्र होइन् ।’ उनले भने ‘बेद,महाभारत,गीता,विभिन्न खण्डकाव्य काव्य लगायतका सचनाका कुरा गर्नुस समाजलाई नैतिकवान बनाउने सन्दर्भमा,मानव सभ्यतालाई अगाडि बढाउने सन्दर्भमा त्यसले महत्व राख्दछ ।’
त्यस्तै उनले प्रदेश सरकार शिक्षा क्षेत्रलाई अगाडि बढाउने काममा लागेको बताए । चाहेका कुरा पनि सीमित स्रोत साधनका कारण समयमा काम गर्न नसकिएको उनको भनाइ थियो । यस्ता प्रदर्शनीले हामीले जानकारी नपाएका कुरा पनि प्राप्त हुन सक्ने उनले बताए ।
महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्वन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना गरिने जनाइएको छ । महोत्सव यही पुस १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्समा विभिन्न ब्यक्ति लाई सम्मान समेत गरिएको छ ।
तस्वीर