धनगढी: बढिमा एक वर्ष युद्ध लड्ने भन्दै कञ्चनपुरबाट रुस पुगेका दुई युवकको युक्रेनसंगको लडाईमा मृत्यु भएको छ । संगै गएका अर्का युवक घाईते छन् । जनही पाँच लाख खर्चेर गतवर्ष तिहारपछि रुस पुगेका कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरका ४५ वर्षीय बिराजन बिष्ट, उनका भाई निराजन बिष्ट र लोकेन्द्र बहादुर युक्रेनसंगको लडाईमा सामेल भएका थिए । ४५ वर्षीय बिराजनको मृत्यु भएको ८ महिनापछि लोकेन्द्रको मृत्यु भएको भएको हो । युक्रेनको तोकमोकमा बंकरभित्र ड्रोन आक्रमणमा परी दाई बिराजनको मृत्यु हुदा घाईते भएका भाई निराजन रुसमै उपचाररत छन् । बिराजनको गत बैशाख ५ गते मृत्यु भएको पुष्टि भएको थियो । सोमवार परराष्ट्र मन्त्रालयले रुसका तर्फ लडिरहेका लोकेन्द्र सहित थप १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । लोकेन्द्र रुसको नियन्त्रणमा रहेको युक्रेनको जैपसोरिजिया क्षेत्रमा मारिएका हुन् ।
कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरकी कमलादेवी विष्टलाई रुसी सेनामा भर्ती भएका छोरा लोकेन्द्रले गत असारमा ऋण तिरिसकेकोले चिन्ता नलिन आश्वस्त पार्दै फर्केर घर बनाउने बाचा गरेका थिए । त्यसयता सम्पर्क बिहीन भएका लोकेन्द्रको मृत्युको खवर आएपछि सुन्दरपुरस्थित घर शोकमा डुबेको छ । घरमा रुवावासी चलेको छ । मस्कोस्थित नेपाली दूतावासले पुस ८ सम्म परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार हालसम्म रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ । मन्त्रालयले मोरङका जीवन राई, कञ्चनपुरका विराजन र लोकेन्द्रबहादुर, रोल्पाका गणेशसिंह पुन, स्याङ्जाका गणेश श्रेष्ठ, उदयपुरका ओमबहादुर मगर, जीवन लिम्बू, मोहन तामाङ र ध्रुव घर्तीमगर तथा चितवनका रञ्जित गुरुङको पनि मृत्यु भएको पुष्टि गरेको छ ।
पति विराजनको अन्तिम संस्कार र क्षतिपूर्तिका लागि बिराजनकी पत्नी चाँदनी भोलि ९बुधबार० दिल्लीबाट रुसको राजधानी मस्को जादैछिन् । उनले क्षतिपूर्ति नपाएसम्म मस्कोमै रहने बताएकी छन् । त्यहाँ रहदा घाईते देवरलाई समेत भेट्ने उनको योजना छ । करिब १५ सय नेपाली रुसी सेनामा भर्ना भएको अनुमान छ । त्यसमध्ये एक वर्ष करारपत्र रद्द गरेर १ सय ६२ जना नेपाल आइसकेको तथ्यांक नेपाली दूतावाससँग छ । नेपाल सरकारको पहलपछि रुसले गत मेबाट नेपालीलाई भर्ना लिन छाडेको परराष्ट्रको दाबी छ ।