अछाम — सुदूरपश्चिमका घुम्ती र मोडमा हुइँकिँदै तराई–पहाड ओहोरदोहोर गर्ने बोलेरो जिपको स्ट्रेरिङ घुमाइरहेकी भेटिन्छिन् एक युवती । उनी हुन्, बैतडीको दुर्गम मानिने पञ्चेश्वर गाउँपालिका–४ निङलाडकी २० वर्षीया रविना चन्द । रविना सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सार्वजनिक यातायात चलाउने एकमात्र महिला चालक हुन् । सातामा दुई दिन बैतडीबाट कञ्चनपुरको महेन्द्रनगरसम्म करिब ५ सय किमि गाडी चलाउँछिन् । स्नातक पहिलो वर्षमा अध्ययनरत रविनाले बलेरो चलाउन थालेको ७ महिना बितिसकेको छ ।
गाउँमा किराना पसल चलाउँदै आएका उनका बुबा डबलबहादुरले ७ वर्षअघि बोलेरो किनेका थिए । तर गाडी चलाउन राखिएका चालक कोही छोटो समयमै छाडेर जाने र कोहीले लापरबाही गर्ने भएपछि सार्वजनिक गाडी नियमित रूपमा चलाउन समस्या भयो । सधैंजसो गाडी चालककै समस्या आउन थालेपछि रविनाले आफैं चालक बन्ने अठोट लिइन् । ‘जिप किनेपछि चालकले गाडी बीचबाटोमै छोडेको, कहिले बिनाजानकारी छाडेर हिँडेको जस्ता समस्या सुनिरहनुपर्थ्यो । त्यसले गर्दा उमेर पुगेपछि आफैं गाडी चलाउँ कि क्या हो भन्ने सोच आउन थाल्यो,’ उनले भनिन् ।
‘बुबाको समस्या समाधान गर्न र जिम्मेवारी लिन चालक बन्ने सपना देखें, अहिले पूरा पनि भयो,’ उनले भनिन् । चालक पेसा र पढाइ सँगसँगै अघि बढाउन चाहन्छिन् रविना । भन्छिन्, ‘सार्वजनिक सवारी चालकहरू बीचमै पढाइ छोड्ने गर्छन्, पढ्दैनन् भन्ने भाष्यलाई गलत सावित गर्न चाहन्छु म ।’ रविनालाई उनका साथीहरू ‘रवि गुरु डन’ भनेर सम्बोधन गर्छन् । सुरुमा गुरु भनेर बोलाउँदा उनलाई लाज लाग्थ्यो । सवारी चालकलाई गुरु भनिने भएकाले अहिले रविनाले पनि सामान्य रूपमा लिन थालेकी छन् । महाकाली यातायात व्यवसायी समितिमा दर्ता भएको म१ज नम्बरको बलेरो चलाएर उनले बैतडीदेखि सुदूरपश्चिमको प्रदेश राजधानी धनगढी र कञ्चनपुरको महेन्द्रनगरसम्म यात्रुलाई सुविधा दिँदै आएकी छन् । बैतडीको पञ्चेश्वर, शिवनाथ र मेलौलीका यात्रुलाई उनी कच्ची सडक हँॅदै तराईसम्म पुर्याइरहेकी छन् ।
‘पहिले त गाडीमा बसेका यात्रुले ड्राइभर खोइ भनेर सोध्थे । मै हो भन्दा पत्याउँदैनथे । कोही त अर्को गाडीमा जान्छौं भन्दै हिँड्थे । छोरी मान्छेले यति लामो बाटोमा सुरक्षित लैजान सक्दिन कि भनेर डराउँथे सायद,’ रविना सम्झिन्छिन्, ‘यात्रुलाई सम्झाइबुझाइ गरेर लग्यो, बीचमा फेरि ट्राफिकले झन् धेरै केरकार गर्ने । विश्वास नलागेर लाइसेन्स पटक–पटक घुमाएर हेर्ने । कति ट्राफिकले त फोटोसमेत खिचेर राख्ने गर्थे ।’ सातामा दुई पटक तराई–पहाड ओहोरदोहोर गर्ने भएकाले अहिले ट्राफिक प्रहरीले चिन्न थालेको र राम्रो व्यवहार गर्दै आएको उनले बताइन् ।
परिवारमा रविनासहित ६ दिदीबहिनी छन् भने उनका एक दाइ छन् । जेठी दिदी मञ्जु वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छिन् । ‘बुबाको हौसला र साथले सुरुमा गाउँमै चलाउन सिकें, त्यसपछि महेन्द्रनगर गएर ट्रेनिङ सेन्टरमा १५ दिन सिकें, पहिलो प्रयासमा ट्रायल पास भएँ र लाइसेन्स पनि पाएँ,’ उनले भनिन् ।’कान्तिपुरबाट