काठमाडौँ: निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी छन् । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको पेशी चढेको छ । अदालत उपस्थित भएकी शाहीको बयान सकिएपछि बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ । भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापा पक्राउ परेका थिए ।
घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । यसअघि गृह मन्त्रालयले शाहीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा बिकले असोज ६ मा भैँसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । अनुसन्धानको क्रममा घटना अन्यत्र मोडिएको थियो ।