धनगढी । धनगढीमा २५ औं अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइएको छ ।,” सुरक्षित आप्रवासनको आधार , सुचना र सीप सहितको रोजगार” भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री मेघराज खड्काले सुरक्षित आप्रवासनको लागि सुदूरपश्चिम प्रदेश सरकार लागि परेको छ। यसका लागि प्रदेश सरकारले मात्रै सबै क्षेत्रलाई समेट्न नसक्ने भएकाले सबै स्थानीय सरकार र विभिन्न सरोकारवाला निकायहरूले आआफ्नो भूमिका निभाएर सहयोग गर्नुपर्ने बताए। प्रदेश सरकारले आर्थिक वर्ष २०८१र०८२ मा आपरबासीहरूको लागि केहीँ कार्यक्रम ल्याएको र यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा ल्याउनको लागि यहाँहरूले समेत सजग भएर लाग्नुपर्नेमा मन्त्रीले जोड दिए।
यस्तै कार्यक्रममा बोल्दै कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पनि आप्रवासनका चुनौती र अवसर उल्लेख्य रहेका छन् । सबैले कानुनको पालना गरेर प्रवासमा जाने गर्नुपर्ने र सुरक्षित आप्रवासनले हामी सबैलाई सहजता प्रदान गर्ने भएकाले सबैले सचेत हुनु पहिलो आवश्यकता रहेको औल्याए र आप्रवासनको सहजताको लागि कैलाली जिल्ला कार्यालय पनि लागि परेको बताए।
सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव चक्रपाणी पाण्डेको अध्यक्षता भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला राना, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रदेश नीति तथा योजना आयोगका सचिव वीरबहादुर धामी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल नेपालका प्रमुख ,राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख ,सामाजिक विकास मन्त्रालय शाखा प्रमुख र रोजगार कार्यालयका प्रमुख लगायत अन्य विभिन्न कार्यालय र संस्थामा आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।