धनगढी । सुदूरपश्चिम प्रदेश सभा लामो समयदेखि बिजनेसविहीन देखिएको छ गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि हालसम्म बैठक बस्न सकेको छैन । प्रदेश सभा सचिवालय धनगढीका सूचना अधिकारी युवराज जैशीले बैठकका लागि ठोस एजेन्डा नहुँदा बैठक बस्न नसकेको जानकारी दिए । उनले भने, ‘हालसम्म बिजनेस केही छैन । दुई वटा विधेयक छलफलका लागि विषयगत समितिमा छन्, त्यति मात्रै हो । एउटा स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संशोधन सम्बन्धी विधेयक मात्रै छ ।’
तर, हालसम्म बजेट अधिवेशनको अन्त्य समेत गरिएको छैन । हिउँदे अधिवेशन चल्ने समयमा हालसम्म बजेट अधिवेशन नै अन्त्य नगरिएको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेश सभा केवल सरकार फेरबदलमा मात्रै सीमित देखिएको छ । मुख्यमन्त्रीहरूलाई समर्थन तथा विश्वासको मत दिनेमा सीमित देखिएको हो । प्रदेश सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभाका कर्मचारीहरू पनि फुर्सदिला तथा कामविहीन देखिएका छन् ।
सूचना अधिकारी जैशीले रातोपाटीसँग भने, ‘केही काम छैन । भूमिकाविहीन जस्तै भइयो । बिजनेसको बारेमा सरकारसँग सोध्नुपर्यो ।’ जनताको आवाज बुलन्द हुने प्रदेश सभा नै कामविहीन बनेपछि जनताका आवाज उठ्न सकेका छैनन् । योसँगै सचिवालयका कर्मचारी फुर्सदिला समेत भएका हुन् । सदन सञ्चालनको दबाब सिर्जनामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भूमिका पनि कमजोर देखिएको छ । तर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता मानबहादुर धामीले आफूहरूले निरन्तर सरकारलाई दबाब दिए पनि सुनुवाइ नगरेको बताए ।
सरकारले दुई तिहाइको दम्भ देखाएको र सदरप्रति गैरजिम्मेवार बन्दा हालसम्म बजेट अधिवेशन अन्त्य हुन नसकेको बताउँदै उनले बिजनेस पनि दिन नसकेको बताए । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्लले चाँडै नै सदन चल्ने दाबी गरे । बिजनेसको कुरा सरकारको कुरा रहेको बताउँदै उनले अहिले नै हिउँदे अधिवेशन चल्नुपर्ने भन्ने कुनै कानुनी प्रावधान नरहेको जिकिर गरे ।