धनगढी: मुलुकको कानुनले बहुविवाहलाई दण्डनीय अपराध मानेको धेरै वर्ष भयो । मुलुकी अपराध संहिता २०७४ ले बहुविवाह गर्नेलाई ५ वर्षसम्म कैदको व्यवस्था पनि गरेको छ । सुदूरपश्चिममा भने बहुविवाह गरेर आफूमाथि अन्याय गर्ने श्रीमानलाई महिलाले मुद्दै नगरी छोडिदिने गरेका धेरै उदाहरण भेटिन्छन् । तिनैमध्ये एक कैलालीको घोडाघोडी नगरपालिका– १ सुखडकी दुर्गा क्षेत्री छिन् । आफू अन्यायमा परेको थाहा हुँदाहुँदै उनि दोस्रो बिहे गर्ने श्रीमानसँग मुद्दा नगरी सहमतिमा बस्न बाध्य भइन् ।
नौ वर्ष पहिले आठकक्षा पढ्दै गर्दा एउटै विद्यालयमा पढ्ने विवेक क्षेत्रीसँग उनले प्रेम विवाह गरेकि थिइन् । बल्ल २३ वर्ष पुग्दै गरेकी दुर्गाका पाँचवर्षे छोरी र एक वर्षका छोरा छन् । विवेकले भने १२ कक्षा पास गरेपछि नजिकैको पर्यटकीय क्षेत्र घोडाघोडीमा फोटो खिच्ने काम गर्न थालेका थिए । त्यही क्रममा कन्चनपुरकी एक किशोरीसँग विवेक नजिकिएका रहेछन् । २०८१ मङ्सिर पहिलो साता उनै किशोरीलाई विवेकले कान्छी श्रीमती भन्दै घर भित्र्याएपछि दुर्गा तनाबमा छिन् । आफ्नो ‘न दिनमा भोक छ न रातमा निद्रा’ दुर्गाले भनिन् ।
यस्तै घोडाघोडीका शर्मिलाले (परिवर्तिन नाम) सोही ठेगाना भएका नरेन्द्रसँग १४ वर्षअघि प्रेम विवाह गरिन् । उनीहरूका १३ वर्षीया छोरी र ७ वर्षका छोरा छन् । चारजनाको सुखी परिवार थियो । श्रीमानले शर्मिलाकी बहिनी नाता पर्नेसँग दोस्रो बिहे गरे । ‘मलाई त्यति धेरै माया गर्ने श्रीमानले अर्को केटीतिर नजर लाउँछ भनेर कल्पना पनि गरेकी थिइनँ मैले । हामीकहाँ घरमा पढ्न बसेकी आफ्नै सानीमाकी छोरीसँग लाग्यो,’ उनले भनिन्, ‘म अहिले उनीहरूलाई अलग्गै बस्न भनेर आफू घरमा बसेकी छु ।’ तीनवर्ष आफूसँगै बसेकी बहिनीसँग आफ्ना श्रीमानको सम्बन्ध थाहा पाएपछि शर्मिलाले सँगै बस्न भनेको थियो ।
उनि भन्नुहुन्छ, ‘जति सम्पत्ति छ सबै मेरो मेहनतले कमाएको हो, एकटुक्रा सम्पत्ति पनि दिन्न घरमा पनि बस्न दिन्न भनेँ । अलगै बस्छन् । छोराछोरीले पनि बावुको खासै वास्ता गर्दैनन ।’ शर्मिला जस्तै बहुविवाहको मारमा परेकि छिन्, घोडाघोडीकै रिता (परिवर्तित नाम) । बाँकेकी रिता र घोडाघोडीका रमेशसँग १८ बर्ष पहिले प्रेम विवाह भएको थियो । उनको पनि १५ वर्षकी छोरी र ९ वर्षको छोरा छन् ।
उनि सरकारी विद्यालयको प्राथमिक तहको राहत शिक्षक छिन् । दुईवर्ष अघिसम्म जीवन ठिकठाक चलेको थियो । आफ्नो श्रीमानको बानी पहिलैदेखि बाहिर धेरै डुल्ने र केटी साथी बनाउने भए पनि घरमै भित्र्याउलान्न उनलाई लागेको थिएन रे । तर रमेश एकजना नजिकैको युवतीसँग प्रेममा परे । ती युवती गर्भवती भएपछि मात्र रिताले थाहा पाइन् । रिताले श्रीमानसँग सम्बन्ध राखेकी ती युवतीलाई समेत अलग हुन सम्झाइन् । उनी मानिनन् । रिताको केही सिप लागेन । रमेशका परिवारले उल्टै दोस्रो विवाहलाई सहमति दिन आफूलाई दबाब दिएको रिता बताछिन् ।
कानुनले बहुविवाहलाई बन्देज गरेको थाहा हुँदाहुँदै परिवारको दबाबले घर ल्याउने सहमति दिएको बाध्यता सुनाउछिन् । ‘मैले सहमति दिएर घर नल्याउँदासम्म मलाई परिवारबाट निकै दबाब आयो । देउता हेराउनेदेखि ग्रहदशा बिग्रेको सबै ठिक हुन्छ भन्ने पारे । अनि बाध्यताले श्रीमानको दोस्रो विवाहलाई स्विकार्नु पर्यो,’ रिताले भनिन् । दोस्रो बिहे गरे पनि सुरूमा श्रीमानको व्यवहार त्यति फेरिएको थिएन । बच्चा जन्मेपछि श्रीमानले अहिले आफू र छोराछोरीको वास्ता गर्न छोडेको रिताले बताइन् ।
‘अहिले त मलाई डिभोर्स दिएर गए हुन्थ्यो जस्तो व्यवहार देखाउन थालेका छन् । श्रीमानले मात्र होइन परिवारका अरू सदस्य र आफन्तलेसमेत मलाई एक्लो बनाउन थाले । बहुविबाहको मुद्दा दिने कुरा गर्दा उल्टो धम्की दिन्छन्,’ निरास हुदै उनले भन्नुभयो । आफूमाथि अन्याय भएको थाहा हुँदाहुँदै पनि रिता मुद्दामामिलाको झन्झटमा पर्न चाहेनन् । बहुविवाहको मुद्दा लगाएपछि सबैबाट घृणा र अपहेलित हुनुपर्छ भन्ने डर रितामा छ । यस्तै डरले दुर्गा पनि ग्रसित छन्। ‘अर्को विकल्प नै देखिनँ मैले। बहुविवाहको मुद्दा हालेर श्रीमानलाई जेल त पठाउँला तर माइतमा पनि म कति बसौंला, घरपरिवारको भनाइ कति सुन्नुपर्ला, छोराछोरी एक्लै कसरी हुर्काउँला,’ उनले भनिन् ।
आफूसँग सम्पत्ति, जागिर र छोराछोरी छँदै छन् भनेर ढुक्क हुने शर्मिलाले पनि श्रीमानविरूद्ध मुद्दा नहाल्नुको कारण जोरीपारीकै डर हो । कानुनको बारेमा जानकार भए पनि श्रीमानलाई बहुविवाहको मुद्दा लगाएर आफू सबैको नजरमा नराम्रो हुन नचाहेको बताइन् । ‘छोराछोरी, सम्पत्ति,जागिर सबै मसँग छन्। उसलाई मुद्दा लगाएर आफन्तको नजरमा नराम्रो हुन चाहिनँ । अहिले उ आफैँ पछुताइरहेको छ । छोराछोरीले समेत उसको वास्ता गर्दैनन्,’ शर्मिलाले भनिन् ।
मुलुकी अपराध संहिताको दफा १७५ को १ ले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुदैन भनेको छ । त्यसै गरी सोही दफाको उपदफा २ मा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरूषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन भन्ने कानुनी व्यस्था छ । उक्त कानुन मिचेमा दफा १७५ कै उपदफा ४ अनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपियाँदेखि पचासहजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ । यो कानुनलाई कार्यान्वयन गर्न भने यहाँका महिलाहरूले निकै सकस बेहोर्नुपर्छ । त्यसै कारण धेरै महिलाले यो कानुनअनुसार मुद्दा गर्न नसकेको महिलाअधिकारका क्षेत्रमा काम गर्नेहरूले बताउँछन् ।
ओरेक नेपाल कैलालीका गीता चौधरी बहुविवाह पछिल्लो समय बढ्दै गएको अनुभव गगर्छन् । उनले बहुविवाह पीडित महिलाहरूलाई ओरेकबाट कानुनी परामर्श र प्रक्रियामा सहयोग गर्दै आएको भएर यस्तो अनुभव गरेकि हुन् । ‘फौजदारी मुद्दा भए पनि पीडक केही दिनमै धरौटीमा निस्कन्छ, बाहिर निस्केपछि उसले गर्ने व्यवहार र पीडित महिलालाई केटाका परिवारले दिने डर,धाक,धम्कीका कारण महिला मुद्दा लगाउन डराउँछन्,’ उनले भनिन् ।
गएको दुई वर्षमा ओरेक नेपाल कैलालीमा बहुविवाह पीडित ११ जना परामर्शका लागि गएको तथ्याङ्क छ । ओरेकको परामर्श र सहयोगले सबै कानुनी प्रक्रिया यामा गए पनि तीन जनाले कान्छी श्रीमती छोड्ने सर्तमा मुद्दा फिर्ता लिएको ओरेकका चौधरीले जानकारी दिए । मुद्दा फिर्ता लिइसकेपछि श्रीमानले कान्छी श्रीमती लिएर भारत गई सम्पर्क विहिन बनेपछि मुद्दा फिर्ता लिने महिलालाई घरपरिवारले कुटपिट गरी घर निकालासम्म गरेको घटना आफूले थाहा पाएको उनले सुनाए ।
प्रहरी कार्यालयको रेकर्डअनुसार आर्थिक वर्ष २०७८।०७९ मा ४१ वटा, २०७९।०८० मा ३४ वटा र २०८०।०८१ मा २८ वटा बहुविवाहका मुद्दा दर्ता भएका थिए । यसले वर्षेनी बहुविवाहका मुद्दामा कमी आएको देखाउँछ । समाजमा बहुविवाहका घटना धेरै भए पनि मुद्दा कम आएको प्रहरी अधिकारीहरू नै बताउँछन् । उनीहरूका अनुसार श्रीमानले बहुविवाह गरेको भन्दै उजुरी दर्ता गर्न आएका महिलाहरू अन्तिममा दर्ता नगर्ीि जाने, मौखिक उजुरी दिने प्रहरीले पक्राउ गरेपछि लिखित उजुरी नदिने, मुद्दामा गइसकेपछि बाहिरै मेलमिलाप गरेर होस्टाइल (बयान फेर्ने) हुने जस्ता घटना धेरै छन् । तिनको रेकर्ड समेत प्रहरीले राखेको हुन्न । जसले गर्दा घटना भए पनि मुद्दा सङ्ख्या भने थोरै हुन्छ ।गोरखापत्रबाट