धनगढी । नेपाल प्रिमियर लिग एनपीएलमा सोमबार लिग चरणका खेलहरू सकिएपछि अब प्लेअफको समिकरण तय भइसकेको छ । ८ मध्ये चार टोली अझै उपाधि होडमा छन् । कसले उपाधि जित्दा फाइनल कुन कुन टोलीले खेल्ला भन्ने उत्सुकता बढ्न थालेको छ । टिमको प्रदर्शन जस्तै खेलाडीहरुको व्यक्तिगत प्रदर्शनको बारेमा पनि चर्चा भइरहेको छ । कुन खेलाडीले शतक हाने कुन खेलाडीले ५ विकेट लिए अनी कुन खेलाडीले अहिलेसम्म धेरै रन बनाएर र कुन खेलाडीले धेरै विकेट लिए भन्ने विषय पनि निकै चासो हुने गरेको छ ।
यस पटक एनपीएलमा विश्वकै चर्चित खेलाडीहरु देखि ४० भन्दा बढी विदेशी खेलाडीले खेलिरहेका छन् । जसले गर्दा पनि चर्चा धेरै भइरहेको छ । त्यसमा पनि विदेशी खेलाडी र नेपाली खेलाडीको प्रदर्शन कस्तो भइरहेको छ भनने अर्को चर्चाको विषय छ ।
यद्यपी नाम चलेका विदेशी खेलाडीहरुँगै नेपाली खेलाडीहरुले पनि सानदार प्रदर्शन देखाइरहेका छन् । कति अवस्थामा नेपाली खेलाडीले विदेशी भन्दा राम्रो पनि गरेका छन् । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नेमा नेपाली र विदेशी खेलाडी मिश्रित रुपमा अघि छन् ।
ब्याटिङमा सर्वाधिक रन बनाउनेमा नेपाली राष्ट्रिय टिमका कप्तान शीर्षमा छन् । शीर्ष दशमा नेपालका ५ र विदेशका ५ ब्याटर छन् । यस्तै बलिङतर्फ सर्वाधिक विकेट लिनेमा न्युजिल्याण्डका खेलाडी स्कट कुगेलेइन छन् । सर्वाधिक विकेश लिने शीर्ष दश खेलमा पनि नेपालका ५ र विदेशका ५ खेलाडी नै छन् । यस्तै ब्याटिङ र बलिङको शीर्ष पाँचमा भने ३(३ नेपाली खेलाडी छन् ।
सर्वाधिक रन बनाउने खेलाडी
लुम्बिनी लायन्सले एनपीएलमा राम्रो प्रदर्शन गर्न नसकेपनि यस टिमका कप्तान रोहित कुमार पौडेलले लिग चरणमा अलराउण्ड प्रदर्शन गरे । टिमले हारिरहँदा पनि उनले उत्कृष्ट प्रदर्शन गरिरहे । लिगमा दुई अर्धशतक सहित उनले सर्वाधिक २७९ रन बनाएका छन् । पहिलो खेलमै विराटनगर विरुद्ध ४६ रन बनाएका रोहितले पोखरा विरुद्ध सर्वाधिक ९५ रन बनाएका थिए । यस्तै चितवन विरुद्ध ८० रन बनाएका थिए । यसैगरी जनकपुर विरुद्ध ३५ रन बनाएका रोहित सुदूरपश्चिम विरुद्ध ५, काठमान्डु विरुद्ध ८ र कर्णाली विरुद्ध १० रनमा आउट भएका थिए ।
रोहित बाहेक दुई अर्धशतक प्रहार गरेन चितवनका रवि बोपाराले २३३ रन रन बनाएर दोस्रो स्थानमा छन् । काठमन्डुविरुद्ध पहिलो खेलमा ११ रनमा आउट भएपनि त्यसपछि पोखरा विरुद्ध ५१ र कर्णालीविरुद्ध अविजित ५९ रन बनाउँदै लगातार दोस्रो अर्धशतक प्रहार गरेका थिए । यसैगरी उनले सुदूरपश्चिम विरुद्ध ३६, लुम्बिनी विरुद्ध १२, विराटनगर विरुद्ध २० र जनकपुरविरुद्ध ४४ रन बनाएका थिए ।
सर्वाधिक रन बनाउनेको तेस्रो स्थानमा पोखराका आन्द्रेस गौस छन् । अमेरिकी विकेटकिपर ब्याटर गौसले एनपीएलमा पहिलो शतक प्रहार गरेका थिए । उनी शतक हान्ने एक मात्र खेलाडी छन् । पहिलो खेलमा उपस्थित नभएका उनले दोस्रो खेलदेखि लगातार खेले । जनकपुर विरुद्ध २० रन बनाएका उनले अर्को खेलमा लुम्बिनी विरुद्ध अविजित १०४ रन प्रहार गरेका थिए । त्यसपछि कर्णाली विरुद्ध २५, विराटनगर विरुद्ध ३९ र सुदूरपश्चिम विरुद्ध ३६ रन बनाए । काठमान्डु विरुद्ध शुन्यमा आउट भए ।
सर्वाधिक रन बनाउनेको चौथो र पाँचौ स्थानमा नेपाली खेलाडी छन् । अलराउण्डरद्वय कुशल मल्लले एक अर्धशतकसहित २०२ र दीपेन्द्र सिंह ऐरीले पनि एक अर्धशतकसहित १९८ रन बनाएका छन् । दुवैले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । कुशल मल्लले सबै खेलमा दोहोरो अंकमा रन बनाएका छन् । उनले काठमान्डु विरुद्ध ११, पोखरा विरुद्ध ३८, कर्णाली विरुद्ध २३, सुदूरपश्चिम विरुद्ध १३, लुम्बिनी विरुद्ध २०, विराटनगर विरुद्ध २० रन बनाएका थिए भने अन्तिम खेलमा जनकपुर विरुद्ध ७२ रन बनाएका थिए ।
उता दीपेन्द्र सिंह ऐरीले भने पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ५७ रन बनाएका थिए । त्यसपछि ब्याटिङ अर्डर चेन्ज गरिरहेका उनको रन गति पनि चेन्ज भइरह्यो । दोस्रो खेलमा काठमान्डु विरुद्ध ४३ र लुम्बिनी विरुद्ध अविजित ३९ रन बनाएका दीपेन्द्र चितवन विरुद्ध १ र जनकपुर विरुद्ध शुन्यमा आउट भए । त्यसपछि पोखराविरुद्ध २० र कर्णाली विरुद्ध ३८ रन बनाए ।
यस बाहेक जनकपुरका लाहिरु मिलान्थाले एक अर्धशतकसहित १९२ रन बनाएका छन् । विराटनगरका बसिर अहमदले पनि एक अर्धशसहित १८१ रन बनाएका छन् । सुदूरपश्चिममा सैफ अली जैबले एक अर्धशतसहित १७४ रन बनाएका छन् । लुम्बिनीका टम मुर्सले १६५ रन बनाएका छन् ।सुदूरकै ब्राण्डन म्याकमुलने र पोखरा एभेन्जर्सका दिनेश खरेलले समान १६२ रन बनाएका छन् । दुवैले समान एक अर्धशतक प्रहार गरेका छन् ।
सर्वाधिक विकेट लिने होड
ब्याटिङमा रोहितले लगातार लिड बनाइरहँदा सर्वाधिक विकेट लिने सूचीमा भने खेलाडी लगातार परिवर्तन भइरहेका थिए । आफ्नो खेल हुँदा विकेट लिएर बलरहरू शीर्ष स्थानमा पुग्थे । पेरि अर्को टिमको खेल हुँदा अर्को बलर विकेट लिँदै सूचीमा माथि आउँथे ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा रोमाञ्चक प्रतिस्पर्धा भयो । कहिले नेपाली खेलाडी माथि हुने कहिले विदेशी खेलाडी माथि हुने क्रम चलिरह्यो ।
लिग चरणपछि सुदूरपश्चिका न्युजिल्याण्डका खेलाडी स्कट कुगेलेइनले सर्वाधिक १५ विकेट लिएर शीर्ष स्थानमा छन् । बलिङमा शीर्ष दशमा परेका खेलाडीमध्ये तीन खेलाडीले एकै खेलमा ५ विकेट पनि लिएका छन् । एकै खेलमा ६ विकेट लिएका कर्णालीका विलियम बोसिस्टो भने शीर्ष दशमा छैनन् ।
पहिलो स्थानमा रहेका स्कट कुगेलेइनले पनि पोखरा विरुद्ध एकै खेलमा ५ विकेट लिए । त्यसपछि अन्तिम लिग खेलमा कर्णाली विरुद्ध २ विकेट लिएर उनी शीर्ष स्थानमा पुगेका हुन् । उनले विराटनगरविरुद्ध ३, लुम्बिनी र चितवनविरुद्ध २(२ तथा जनकपुरविरुद्ध १ विकेट लिए । काठमान्डुविरुद्ध भने उनले विकेट लिएनन् ।
सर्वाधिक विकेट लिनेमा दोस्रो र तेस्रोमा रहेका नेपाली खेलाडीद्वय ललित राजवंशी र रिजन ढकालले समान १३ विकेट लिएका छन् । जनकपुरका ललितले विराटनगर, पोखरा र काठमान्डु विरुद्ध ३(३ विकेट लिँदा चितवनविरुद्ध २ तथा कर्णाली र लुम्बिनी विरुद्ध समान १ विकेट लिए । सुदूरपश्चिमविरुद्ध उनले विकेट लिन सकेनन् ।
यस्तै रिजनले पोखरा र लुम्बिनी विरुद्ध समान ३ तथा सुदूरपश्चिम, जनकपुर र विराटनगर विरुद्ध समान २ विकेट लिए । काठमान्डुविरुद्ध १ विकेट लिएका उनले कर्णाली विरुद्ध विकेटविहिन बने ।
यस्तै चितवनका सोहेल तनविर र काठमान्डुका करण केसीले समान १२ विकेट लिएका छन् । तनविरले सुरुवाती खेलमा विकेट लिँदै सानदार प्रदर्शन गरेपनि त्यो लय कायम राख्न सकेनन् ।
तनविरले पहिलो खेलमै काठमान्डु विरुद्ध ५ र दोस्रो खेलमा पोखरा विरुद्ध ३ विकेट लिएर सानदार सुरुवात गरेका थिए । त्यसपछि ५ खेलमा उनले जम्मा ४ विकेट लिए । अन्तिम खेलमा जनकपुर विरुद्ध २ विकेट लिएका तनविरले सुदूरपश्चिम र विराटनगर विरुद्ध समान १ विकेट लिए । कर्णाली र लुम्बिनी विरुद्ध उनी विकेटविहिन बने ।
सुरुवाती अपेक्षाकृत नरहेपनि काठमान्डुका कप्तान करण केसीले पछिल्ला खेलहरूमा लगातार विकेट लिए । पहिलो खेलमा उनी चितवन विरुद्ध विकेटलेस बनेका थिए । त्यसपछि कर्णाली र सुदूरपश्चिम विरुद्ध समान १ विकेट लिएका उनले लुम्बिनी विरुद्ध ४ विकेट लिए । जनकपुर विरुद्ध २, पोखरा विरुद्ध ३ र विराटनगर विरुद्ध १ विकेट लिए ।
यसैगरी काठमान्डुका जेरार्ड एरासमसले ११ विकेट लिएका छन् भने जनकपुरका हर्श थाकर र किशोर महतोले समान १० विकेट लिएका छन् । त्यसपछि ९ विकेट लिनेमा ७ खेलाडी छन् ।
सुदूरपश्चिमका अली जैब, विराटनगरका प्रतिश जिसी र क्रिस सोल, कर्णालीका विपिन शर्मा, पोखराका विपिन खत्री, लुम्बिनीका साद विन जफर र रेमोन सिमोन्ड्सले समान ९ विकेट लिएका छन् । अनलाइन खबर