काठमाडौँ — कप्तान करण केसी र दीपेश कँडेलले उत्कृष्ट बलिङ गरेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबारका लो स्कोरिङ खेलमा लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ रोजेको गुर्खाज १९.३ ओभरमा १ सय ३ रनमा अलआउट भयो । करणले ४ र दीपेशले ३ विकेट लिएपछि जवाफमा आएको लुम्बिनी १९।२ ओभरमा ८५ रनमा अलआउट भयो । हारपछि लुम्बिनी औपचारिक रुपमै प्लेअफ दौडबाट बाहिरिएको छ । प्रतियोगिताबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । ६ खेलमा टोलीको यो पाँचौ पराजय हो । गुर्खाजले भने चौथो खेलमा दोस्रो विजय हात पार्दै प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।
करणले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएका हुन् । उनले खेलको १९ औं तथा आफ्नो दोस्रो ओभरमा सन्दीप जोरा र रामोन सिमोन्ड्स ९०० लाई आउट गरेका थिए । जोराले लुम्बिनीबाट सर्वाधिक २६ रन बनाए । उनले २९ बल खेली २ चौका प्रहार गरे । उनमुक्त चन्द १४ रनमा आउट भए भने सूर्य तामाङ ११ रनमा अविजित रहे । आशुतोष घिरोहिया ४, अर्जुन साउद ३, टम मुर्स ६, कप्तान रोहित पौडेल ८, सान बिन जाफर शुन्य, विवेक यादव २ र अभिशेष गौतम २ रनमा आउट भएका थिए । करणबाहेक काठमान्डुबाट दीपेशले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । जेहरार्ड इरसमसले ४ ओभरमा १९ रन खर्चेर २ र रशिद खानले १ विकेट लिए ।
यसअघि भीम सार्कीले गुर्खाजबाट सर्वाधिक ३१ रन बनाए । उनले ४० बल खेली १ चौका प्रहार गरे । ड्यान डाउथवेटले २ छक्का प्रहार गर्दै २४ बलमा २१ रन जोडे । प्रतिक श्रेष्ठले २ छक्कासहित १४ बलमा २० रन बनाए । मोन्ड्सले पहिलो ओभरमै माइकल लेभिटलाई बोल्ड गरी गुर्खाजको विकेट लिनेक्रम सुरु गरेका थिए । स्टेफन इस्किनाजी शुन्य, इरसमस १, सुमित महर्जन ४, रशिद र करण १–१ तथा साहव आलम ८ रनमा आउट भए ।
जाफरले लुम्बिनीबाट ३ विकेट लिए । क्यानडाका पूर्वकप्तान जाफरले सोक्रममा ४ ओभरमा २१ रन खर्चेका थिए । अर्का देव्रेहाते स्पिनर अभिशेषले ४ ओभरमा १६ र सिमोन्ड्ले ३।२ ओभरमा २१ रन खर्चेर २–२ विकेट लिए ।