धनगढीः बाजुरा जिप दुर्घटनापछि २ जनाको मृत्यु हुँदा कञ्चनपुर शोकमग्न बनेको छ। हिजो बाजुराको मार्तडीमा दुर्घटना हुँदा शिक्षा विकास समवन्य इकाई बाजुराका प्रमुख रामदत्त भट्टकी पत्नी भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीया शिक्षिका गायत्री पन्तको मृत्यु भएको थियो। उनीहरुको घर कञ्चनपुर हो। गायत्री भीमदत्त नगरपालिका–१० मा रहेको माई सेन्सुरियम स्कुलकी शिक्षिका हुन्।
पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै, दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्। घाइते तीनै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। आइततबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको जिप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो। जिप कोल्टीदेखि मार्तडी गइरहेको थियो।