काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो पराजय भोगेको छ । पहिलो तीन खेल जितेको सुदूरपश्चिमलाई आइतबार चितवन राइनोजले ३३ रनले पराजित गर्यो । १ सय ६५ रनको लक्ष्य लिएर मैदान उत्रिएको सुदूरपश्चिम १ सय ३१ रनमै समेटियो । चितवनले ४ खेलमा तेस्रो विजय हात पारेको हो । सुदूरपश्चिम र चितवन समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । जनकपुर बोल्ट्स पहिलो चारै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ ।
इशान पाण्डेले सुदूरपश्चिमबाट सर्वाधिक ३५ रन बनाए । उनले २८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । सैफ जैब १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्वा १२, आरिफ शेख ४, कप्तान दीपेन्द्रसिंह ऐरी १, नरेश बुढाऐर ५, नरेन साउद १० रनमा आउट भए । आउट हुने अन्तिम खेलाडी स्कट कुग्लेनले १० बलमा ३ चौकासहित १६ रन बनाए । चितवनबाट रिजन ढकाल, कुशल मल्ल, यान निकोलस लफ्टी इटन र अमरसिंह रौउटेलाले २–२ तथा सोहेल तनवीर र रन्जीत कुमारले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ६४ रन बनाएको थियो । ओपनर हसन इसाखिलले चितवनबाट सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेली ६ चौका र ३ छक्का प्रहार गरे । पहिलो पटक ओपनरको भूमिकामा पठाइएका सन्तोष कार्कीले ९ रनमात्र बनाउन सकेका थिए । विपिन रावल २० बलमा १७, कुशल १६ बलमा १३ रन बनाई आउट भए ।
भेट्रान इंग्लिस ब्याटर रवि बोपारा १८ बलमा समान २ चौका र छक्का प्रहार गरी ३६ रनमा आउट भए । रौटेला ३ बलमा ६ र लफ्टी इटन ४ बलमा २ रन बनाई अविजित रहे । सुदूरपश्चिमबाट कुग्लेनले २ विकेट लिए । उनले ४ ओभरमा २९ रन खर्चेका थिए । दीपेन्द्र, म्याकमुलेन र जैबले १–१ विकेट लिए ।