धनगढी । भलमनसा प्रमुख धनीराम चौधरीलाई गाउँको नेतृत्व गरेबापत यस वर्ष १८ हजार रुपियाँ दिएको छ । कैलारी गाउँपालिका–७, छटकपुर वसन्तावासीले एक वर्षको पारिश्रमिकस्वरूप उन लाई त्यति रुपियाँ दिएको हो ।
छटकपुर वसन्तावासीले गाउँभरिबाट मिलाएर एक वर्षको पारिश्रमिकस्वरूप यस वर्ष गुरुवालाई १२ क्विन्टल र चिराकीलाई १३ क्विन्टल धान दिएका छन् । भलमनसासहित सबैलाई पारिश्रमिक दिनका लागि प्रत्येक घरबाट एक मन धान सङ्कलन गरिएको थियो ।
छटकपुर वसन्ताको भलमनसा जस्तै थारू समुदायमा गाउँको नेतृत्व गर्ने कतिपय गाउँका भलमनसाले पछिल्लो समय पारिश्रमिक पाउन थालेका छन् । गाउँवासीको निर्णय अनुसार नै भलमनसालाई पनि पारिश्रमिक दिन थालिएको हो । पहिले पहिले भलमनसाले निःशुल्क र निःस्वार्थ रूपमा गाउँको नेतृत्व एवं सेवा गर्दै आएका थिए । गुरुवा र चौकीदारलाई भने पहिल्यैदेखि नै पारिश्रमिकस्वरूप बाली धान दिने भलमनसा प्रथामा व्यवस्था रहेको छ ।
भलमनसा प्रथालाई जीवन्त राख्नका लागि पारिश्रमिक दिन थालिएको कैलारी गाउँपालिका–६, बेनौलीका भलमनसा रामऔतार चौधरीको भनाइ छ ।
बेनौलीमा २७१ घरधुरी रहेको छ । गुरुवा, केसौकालाई बाली दिनका लागि प्रतिघरबाट सात पसेरी का दरले धान र एक पसेरी का दरले चामल उठाइएको थियो ।