धनगढी: मंसिर २२ अर्थात (भोली) देखी सञ्चालन हुने सुदुरपश्चिम महोत्सवको तयारी पुरा भएको छ । १८ औँ संस्करणको सुदुरपश्चिम महोत्सवको तयारी पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
महोत्सवको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कैलाली उद्योग बाणिज्य सघंका महासचिव ओम बिष्टले बताए । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुने महोत्वस पुस २ गतेसम्म सञ्चालन हुनेछ । कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ५३१ वटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
संघले महोत्वसमा उद्योगी व्यवसायको १५ करोड बराबरको कारोबार हुने अनुमान गरेको छ। महोत्सव उत्कृष्ट रूपमा सम्पन्न गर्न ३ करोड लाग्ने बताइएको छ। यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई महोत्सव प्रवेश निःशुल्क गरिएको छ। महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० र सर्वसाधारणलाई एक सय रुपैयाँ टिकट तोकिएको छ । सुदूरपश्चिम महोत्सवबाट संकलन भएको रकमबाट तीन लाख रकम एनपीएलमा सहभागी सुदूरपश्चिम रोयल्स टीमलाई दिने बताएको छ । ‘सुदूरपश्चिम महोत्सव–२०८१’बाट संकलन भएको रकमबाट सुदूरपश्चिम रोयल्सलाई दिने भएको कैलाली उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले बताए ।