काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगितामा कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ । कर्णाली याक्सले शुक्रबार सम्पन्न पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हारको स्वाद चखाएको हो । जारी एनपीएलमा कर्णाली याक्सको यो पहिलो जित हो भने चितवन राइनोजको पहिलो हार । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली याक्सले भने १९।५ ओभरमा चार विकेट गुमाएर एक सय ३२ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । कर्णाली याक्सका लागि प्रभावशाली ब्याट्सम्यान शिखर भवनले ४५ रनको योगदान गरे । चर्चित भारतीय क्रिकेटर धवनले ४१ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए ।
३९ वर्षीय धवन केवल पाँच रनका कारण दोस्रो अर्धशतक बनाउनबाट चुके । कर्णाली याक्सले ५३ रनमा पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटका रूपमा ओपनर देव खनाल २५ रन बनाउँदै आउट भएका थिए । उनले ३४ बलमा एक छक्का र एक चौका प्रहार गरेका थिए । त्यसपछि ओपनर धवन र तेस्रो नम्बरका ब्याट्सम्यान चाडविक वाल्टनले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । विकेटकिपर वाल्टनले पनि टोलीका लागि ३० रनको योगदान गरे । उनले केवल १९ बलमा तीन छक्का प्रहार गरे । धवन आउट भएलगत्तै वाल्टन पनि पेभेलियन फर्किएका थिए । जिसन मक्सुदले अविजित १२ रनको योगदान गरे । उनले १५ बलमा एक चौका प्रहार गरे । अर्जुन घर्तीले पनि टोलीको खातामा ११ रन थपे । कर्णाली याक्सले अतिरिक्त रूपमा पनि नौ रन पायो । चितवन राइनोजका कप्तान कुशल मल्ल, जन निकोल लफ्टी एटन र रवि बोपराले एक–एक विकेट लिए ।
त्यसअघि, चितवन राइनोजका लागि रवि बोपराले अर्धशतकीय पाली खेलेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५९ रन बनाएका थिए । यसक्रममा उनले ४० बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए । बोपराले ३५ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । बोपराले जारी एनपीएलमा व्यक्तिगत रूपमा बनाएको यो दोस्रो अर्धशतक हो । उनी जारी एनपीएलमा हालसम्म दुईवटा अर्धशतक बनाउने एकमात्र खेलाडी पनि हुन् । जारी एनपीएलमा बनेको यो नवौँ अर्धशतक पनि हो ।
यसअघि, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवि बोपरा, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए । कर्णाली याक्सविरुद्धको खेलमा चितवन राइनोजले माथिल्लो तीन विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर ब्याट्सम्यान लुक मार्टिन बेनकेनस्टाइन शून्य रनमै पेभेलियन फर्किएका थिए । अर्का ओपनर दीपक बोहरा पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् ।
चितवन राइनोजको तेस्रो विकेटका रूपमा विकेटकिपर ब्याट्सम्यान विपिन रावल ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी आउट हुँदा टोलीको स्कोर केवल २२ रन थियो । त्यसपछि बोपरा र कप्तान कुशल मल्लले टोलीको स्कोरलाई ८२ रनको स्थितिसम्म पुर्याएका थिए । कप्तान कुशलले पनि टोलीका लागि २३ रनको योगदान गरे । उनले २७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । जन निकोल लफ्टी एटन नौ रन बनाउँदै आउट भए । सोहेल तनवीरले भने खाता खोल्न सकेनन् । अमर रौतेला पनि नौ रनभन्दा अगाडि बढ्न सकेनन् । अनुभवी ब्याट्सम्यान शरद भेषावकर ६ रनमा अविजित रहे । चितवन राइनोजले अतिरिक्त रूपमा केवल पाँच रन पायो । कर्णाली याक्सका बलर विपिन शर्माले तीन विकेट लिए । विपिनले चार ओभरमा २१ रन खर्चिए । जिसन मक्सुदले पनि दुई विकेट हात पारे । कप्तान सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।
चितवन राइनोज र कर्णाली याक्स दुबैले आफ्नो तेस्रो खेलेका हुन् । यसअघि खेलिएको आफ्नो दुबै खेलमा चितवन राइनोज विजयी भएको थियो । चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । कर्णाली याक्स भने यसअघि खेलिएको आफ्नो दुबै खेलमा पराजित भएको थियो । कर्णाली याक्स आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो ।
जितसँगै कर्णाली याक्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दुई खेल खेलेको सुदूरपश्चिम रोयल्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेल खेलेको चितवन राइनोज चार अंकसहित तेस्रो स्थानमा छ । तीन खेल खेलेको कर्णाली याक्स दुई अंकसहित चौथो स्थानमा छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित पाँचौँ स्थानमा छ । तीन खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित तालिकाको छैटौँ स्थानमा आसीन छ । एक खेल खेलेको लुम्बिनी यालन्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अंक बटुल्न सकेका छैनन् ।