धनगढी: सुदूरपश्चिम सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले सहकारी भनेका निजी बैंक सरह नै भएको बताएका छन् । बिहीबार गोदावरी नगरपालिका– ८ जमुनानगरमा रहेको सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ साधारण सभामा बोल्दै उनले सहकारी सर्वसाधारणको सहज पहुँचमा रहेका निजी बैंक सरह भएको बताएका हुन् ।
‘सहकारी भनेका निजी बैंक नै हुन । तपाइहरूले दिनरात गरेर कमाएको रकम सहकारीमा जम्मा गर्ने र आफूलाई अप्ठ्यारो परेको बेला सजिलो तरिकाले ऋण लिएर चलाउने संस्था सहकारी हो’ उनले भने ‘ पछिल्लो समय सहकारीका नाममा विकृति पनि मौलाएको छ । यसबाट बच्ने र बचाउने उपाय पनि सेयर धनीको हातमा छ । त्यसले सहकारीमा यसका साधारण सदस्यले चनाखो हुन आवश्यक छ । सहकारीका सदस्यले आफ्नो सेयर र बचतको रकम कहाँ लगानी गरिएको छ बुझ्न आवश्यक छ ।’
उनले नेपालको आर्थिक अवस्था दयनीय भएको बताउँदै आर्थिक मेरुदण्ड अहिले सहकारीले धानेको बताए । ‘नेपालको आर्थिक अवस्था दयनीय छ । व्यापार ठप्प छ । कलकारखाना बन्द अवस्थामा छन् । यस्तो अवस्थामा नेपाल भित्र रहेका सहकारी र विदेशबाट आएको रेमिट्यान्सले यो देशको आर्थिक मेरुदण्ड धानेको छ ।’
उनले सहकारी सञ्चालनमा आएपछि जनता साहु महाजनको ऋणको पासोमा पर्नु नपरेको बताए । ‘२५–३० वर्ष अघि सम्म पनि हाम्रो समाजमा महाजनी प्रथा थियो । ती महाजनबाट ऋण लिनुको विकल्प थिएन । जुन ऋणको व्याज निकै महँगो हुन्थ्यो’ उनले भने ‘यस्तो अवस्थाबाट निकास दिन बैंक खुले तर, बैक पनि नाफा मुखी हुन गए । जसमा सर्वसाधारणको पहुँच पनि पुगेन । जसले सहकारीको प्रथा अघि आएको हो ।’