धनगढीः कैलालीको धनगढीस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर अगाडी बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ परेका छन्। बम राख्न लगाउने अमृत सापकोटा (गौरव) र राख्ने दानबहादुर धामी छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन्। २०८१ भदौ ९ गते नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको धनगढीस्थित घर अगाडि बम फेला परेको थियो। घरको मूलगेटको छेउमा कालो झोलामा माटोभित्र एउटा टिफिन बक्स भेटिएको थियो। सभापति देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी आउँदा सोही घरमा बस्छन्।
विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृत सापकोटा (गौरव) ले गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। अमृतले माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए। उनको साथबाट केही राजनीतिक दस्ताबेज र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गर्ने तयारी गरेको कागजात भेटिएको प्रहरीले जनाएको छ। विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृतलाई प्रहरीले पक्राउ गरेको छ।