धनगढी: कैलालीका यातायात व्यवसायी अम्मर बिष्टले आफ्नो सार्वजनिक बसमा ज्येष्ठ नागरिकलाई एक सिट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । गोदावरी नगरपालिका – ५ गेटाका विष्टले आफूले सञ्चालन गर्दै आएको बसमा एक जना ज्येष्ठ नागरिकलाई निःशुल्क सिट उपलब्ध गराउने घोषणा गरेका हुन । उनले ज्येष्ठ नागरिकको सहजताका लागि आफूले बसमा व्यक्तिगत रूपमा एक सिट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको बताए । विगत १५ वर्ष देखि यातायात पेसामा आबद्ध उनले यसअघि पनि बसमा ज्येष्ठ नागरिकलाई सहयोग गर्दै आएको भए पनि बुधवार देखि आधिकारिक रूपमा एक सिट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको बताए ।
‘सुदूरपश्चिम यातायात प्रा.लिबाट चलेको आफ्नो गाडीमा व्यक्तिगत रूपमा अभियान सुरु गरेको बताउँदै उनले यो अभियानमा सबै यातायात व्यवसायीलाई जोडिन आग्रह गरे । सुपप्र ०१– ००१ ख ३५४१ नम्बरको उनको बस अहिले धनगढी, टीकापुर, राजापुर हुँदै बर्दियाको गुलरिया सम्म जाने गरेको छ । उनले लामो दुरीमा नभए पनि छोटो दुरीमा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा छुट दिन सम्भव रहेको बताए ।