धनगढी: कैलालीमा कपडा गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् भने ८० लाख रुपियाँ बराबरको क्षति भएको छ । बर्दगोरिया गाउँपालिका–२ स्थित द्वारिकाप्रसाद धमलाको चारतले पक्की घरको बिच तलामा रहेको कपडा गोदाममा आगलागी भएको हो । मङ्गलबार राति भएको आगलागीबाट ८० लाख रुपियाँ बराबरको नोक्सान भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घरमा आगलागी भएपछि निस्सारिएर घरधनी ८२ वर्षीय मुक्तिप्रसाद धमला अचेत भएका छन् । बौनियास्थित खापर पोलिक्लिनिकमा उहाँको उपचार भइरहेको छ । यसैगरी, आगो निभाउने क्रममा स्थानीय ३९ वर्षीय टेकराज जोशी र प्रहरी जवान टङ्कध्वज मगर घाइते भएको जनाइएको छ । घाइते जोशी र मगरको बौनियास्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयले मिलेर आगो नियन्त्रणमा लिएका थिए । आगलागी घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।