धनगढी: थारु समुदायमा लवाङ्गी पूजा गरेर मात्र नयाँ धानको भात खाने चलन छ । धानबाली भित्र्याइसकेपछि प्रत्येक गाउँमा यो पूजा गर्ने गरिन्छ । बाली वा अन्न पूजाको रुपमा लवाङ्गी पूजा गरेपछि नयाँ धानको भात खाने गरेको कैलारी गाउँपालिका –७ छटकपुर बसन्ता गाउँका भलमन्सा जीयाराम चौधरीले बताउनुभयो । उहाँले सोही चलनअनुरुप आफ्नो गाउँवासीले लवाङ्गी पूजा गरेको जानकारी दिए ।
यसैगरी, लवाङ्गी पूजाकै दिन गाउँका १९२ परिवारले भजहर पनि मनाएका छन् । भजहर एक किसिमको पूजा कार्यक्रम हो । आपतविपतबाट जोगिनका लागि भजहर मनाउने गरेको गाउँका देशबन्धिया गुरुवा दुर्गाप्रसाद चौधरीले बताए । भजहर गाउँभन्दा केही पर वन क्षेत्र वा चउरमा गएर मनाउने गरिन्छ ।