धनगढी: सार्वजनिक शिक्षा सुधारको माग राखेर धनगढीमा मौन प्रदर्शन गरिएको छ । नेपाल समाजवादी पार्टी नेपाल निकट नेपाल समाजवादी विद्यार्थी युनियनले १५ बुँदे माग राखेर मौन प्रदर्शन गरेको युनिनयका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले जानकारी दिए । धनगढीको ट्राफिक चौराहमा सार्वजनिक शिक्षा सुधारका १५ बुँदे मागसहित ब्यानर टाँगेर सडकमा उभिएर मौन प्रदर्शन गरिएको उनले बताए । नयाँ शिक्षा ऐन ल्याउँदा देशैभरिका स्थानीय तहमा कानुन निर्माणमा जटिलता र अन्योल सृर्जना गरेकाले उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा तत्काल नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए ।
गण्डकी प्रदेशको पोखराबाट सार्वजनिक शिक्षा सुधारका लागि प्रदर्शन थालिएकोमा सुदूरपश्चिमसहितका सबै प्रदेशमा प्रदर्शन गरिने उनले बताए । सबै प्रदेश राजधानीमा दुई दिन मौन प्रदर्शन गर्दै शिक्षा ऐन परिवर्तन गर्न सरकारलाई दबाब दिइने उनी बताउँछन् । ‘२०७२ सालमा नेपालमा संविधान जारी भयो । मौलिक अधिकार सम्बन्धी कानुन तीन वर्षभित्र बनाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, ९ वर्षसम्म शिक्षा ऐन बनेको छैन,’ चापागाईंले भने, ‘यसले ७५३ वटै स्थानीय तह, ७ वटै प्रदेश सरकार शिक्षा ऐन बनाउन सकिरहेका छैनन् । तत्काल उच्चस्तरीय शिक्षा आयोगको सिफारिसका आधारमा नयाँ ऐन ल्याउनुपर्छ ।’
इसीडी शिक्षा, विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थी छात्रवृत्ति परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्ने, पाठ्यक्रममा सिपमुलक शिक्षा र खेलकुद अनिवार्य समावेश गर्नुपर्ने माग समेत अघि सारिएको छ ।