धनगढी: प्रदेश र स्थानीय सरकारबीचको सहकार्य र समन्वयलाई महत्त्व दिनुपर्नेमा जोड दिँदै गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिमको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई दबाब दिएको छ । प्रदेश समन्वय परिषदको बैठक सञ्चालन गर्न, स्थानीय सेवा ऐन तत्काल जारी गर्न, २५ लाखभन्दा कमका आयोजना सम्बन्धित स्थानीय सरकारमार्फत कार्यान्वयन गर्ने निर्णय कार्यान्वयन गर्न प्रदेश सरकारलाई ताकेता गरेको छ । ‘स्थानीय सरकारसँग सम्बन्धित प्रदेशले गर्नुपर्ने कार्यहरू तत्काल कार्यान्वयन गर्न भनेका छौं,’ महासंघका प्रदेश अध्यक्ष लोकेन्द्र शाहीले भने ।
महासंघले मुख्यमन्त्रीलाई दिएको लिखित पत्रमा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध तथा समन्वय) ऐन, २०७७ बमोजिमको प्रदेश समन्वय परिषदको बैठक लामो समयदेखि हुन नसकेकाले तत्काल बैठकको आह्वान गर्न भनेको अध्यक्ष शाहीले बताए । यस्तै, स्थानीय सरकारमा कार्यरत कर्मचारीहरूका लागि प्रदेश सभाले जारी गर्नुपर्ने स्थानीय सेवा ऐन हालसम्म पनि सुदूरपश्चिम प्रदेशले जारी गर्न नसकेको भन्दै गुनासो पनि गरिएको छ । महासंघले प्रदेश सरकारले यसअघि नै घोषणा गरेअनुसार चालु आर्थिक वर्षको बजेट कार्यान्वयमा २५ लाखभन्दा कम बजेटका योजना उपभोक्ता समितमार्फत कार्यान्वयन नगर्न र स्थानीय तहको समन्वय तथा जिम्मेवारीमा कार्यान्वयन गर्न गराउन आग्रह गरेको छ ।