पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई आज अदालत लगिँदैछ । सहकारीको रकम अपलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका उनीहरुलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगिने भएको हो । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि अदालत लगिँदैछ ।
उनलाई अदालत लैजाने समय एकीन नभएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालतल कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्याइएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा उनीसँग चार दिनमा करिब २२ घण्टा लगाएर बयान लिइएको थियो । बयानमा क्रममा सोधिएका ६० प्रश्नमा उनले इन्कारी जवाफ दिएको बताइन्छ । कास्कीमा आज पनि म्याद थप भए केही दिनमै काठमाडौँ लैजाने तयारी छ । अदालतले रिहा गरिदिए लगत्तै पक्राउ गरेर काठमाडौँ पठाउने प्रहरीको तयारी छ ।
उनीमाथि विभिन्न मुद्दामा अनुसन्धान भइरहेकाले म्याद थप हुने सम्भावना बढी रहेको बताइन्छ । लामिछानेलाई बयानका लागि काठमाडौँ पठाउने विषयमा छलफल भइरहेको डीएसपी शर्माको भनाइ । लामिछानेलाई आज अदालतले म्याद थप गरिदिए केही दिनमा र रिहा गर्ने निर्णय गरे आजै पक्राउ गरी रुपन्देही पठाइने सम्भावना रहेको डीएसपी शर्माले बताए । काठमाडौँमा जोशीको बयान लिइसकेको छ ।