डडेलधुरा: पूर्व प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उग्रतारा मन्दिरलाई प्राचिनशैलीमा पुनः निर्माण गर्न पहल गर्ने बताएका छन्। उग्रतारा भगवती मन्दिरको वार्षिक पूजाआजासहित लाग्ने भव्य मेला देहिजाँतमा शनिबार पुगेका देउवाले पछिल्लो समय कंक्रिट प्रयोग गरेर बनाइएको मन्दिरलाई प्राचिनशैलीमा पुनःनिर्माण गर्न पहल गर्ने बताएका हुन् । उग्रतारा मन्दिरको कंक्रिट हटाई पुरानो रुप दिन पुरातत्त्व विभागले आर्थिक वर्ष २०७९/०८० मा एक करोड ६२ लाख रुपियाँ विनियोजन गरेको थियो। तर प्राचिनशैलीमा मन्दिर निर्माण गर्ने निर्माण कम्पनी सुदूरपश्चिम प्रदेशमै नभएको र काठमाडौँमा मात्रै भएकाले ठेक्का सम्झौता हुन सकेका थिएन। पुरातत्त्व विभागलाई बिना जानकारी उग्रतारा मन्दिरमा सिमेन्ट र कंक्रिटको प्रयोग गरेर पुनःनिर्माण गरेपछि पुरातत्त्व विभागले आफ्नो सम्पदा सूचीबाट उग्रतारा मन्दिरलाई हटाएको थियो।
वि।सं। २०४१ सालमा पञ्चायती व्यवस्थाको सरकारले उग्रतारा मन्दिरलाई पुरातत्त्व विभाग सम्पदा सूचीमा सूचीकृत गरेको थियो। उग्रतारा मन्दिरको तस्बिर अंकित हुलाक टिकटसमेत जारी गरेको थियो। पुरातत्त्व विभागलाई कुनै जानकारी नगराई मन्दिरमा कंक्रिटको प्रयोग गरेर पुनःनिर्माण गरिएपछि वि।सं। २०५४ सालमा विभागले आफ्नो सम्पदा सूचीबाट हटाएको थियो। मेलामा पुग्नुभएका देउवाले उग्रतारा क्षेत्र विकास समितिले प्राचिनशैलीमा मन्दिर निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने भन्दै मागपत्र बुझाउनुभएको थियो। मागपत्र बुझदै सभापति देउवाले आएको बजेट कार्यान्वयन गर्न गराउन पहल गर्ने बताएका हुन् । उग्रतारा मन्दिरलाई कंक्रिट हटाई पुनःप्रयोग गर्ने वस्तु ढुङ्गा काठ, तामाको प्रयोग गर्न उक्त बजेट विनियोजित भएको थियो। उग्रतारा मन्दिरको साँस्कृतिक, ऐतिहासिक, परम्परागत र पुरातन शैलीमा पूजाअर्चना गर्ने परम्परा र स्थानीयको आस्था र भावनालाई यथोचित रुपमा सम्बोधन गर्दै आकृति प्रकृतिलाई यथावत राखेर स्थानीयश्रोत साधनको प्रयोगमा प्राथमिकता दिँदै मन्दिरको बाहिरी भागको सबै संरचना परिवर्तन गर्न पहल गर्ने सभापति देउवाले बताए।
शनिबार उग्रतारा मेला देहिजाँतमा पुगेर देउवा र उहाँकी धर्मपत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूजाआजा गरेका थिए। शुक्रबार साँझ डडेलधुरा पुगेकी कांग्रेस नेतृ एवं परराष्ट्र मन्त्री डा. देउवाले नेता कार्यकर्तालाई निर्देशनसमेत दिएकि छिन्। देउवाले आफू बसेको होटेलमा कांग्रेस जिल्ला कार्यसमतिको बैठक राखेर पार्टीभित्र सबै एकजुट हुनुपर्नेमा जोड दिए। पार्टी विरोधी गतिविधिविरुद्ध संगठित भएर लाग्नुपर्ने उनको भनाइ छ। डडेलधुरा अस्पताल स्थापना गरे पनि सफल बनाउन निकै काम गरिएको उनले बताए। तर जनशक्ति अभावका कारण पूर्ण दरबन्दीमा अस्पताल संचालन गर्न नसकिएको उनको भनाइ थियो। अस्पताल, मेडिकल कलेज र सदरमुकामको सडक कालोपत्रे गर्न आवश्यक बजेट विनियोजन हुने उनले बताए।