बैतडी: पुर्ख्यौली पेसाले उद्योगका रूप लिन नसकेपछि छालाका जुत्ता बनाउने सार्की समुदायका युवा हातमुख जोर्नकै लागि भारततर्फ पलायन हुन थालेका छन् । पछिल्लो समय अधिकांश युवा परिवारका सदस्य र बालबच्चा बोकेर भारततर्फ हिँडेपछि विद्यालयमा विद्यार्थी सङ्ख्यासमेत घट्न थालेको छ । दोगडाकेदार गाउँपालिका–५, न्वाली, वनकाँडा र गोबडा गाउँमा १५० घरघुरीभन्दा बढी सार्की समुदायको बसोबास रहे पनि बेरोजगारीले गाउँ रित्तिन थालेको छ । शतप्रतिशत घरधुरीका युवा रोजगारीका लागि भारत हिँडेपछि गाउँमा मलामी जाने युवा पाउनसमेत मुस्किल हुन थालेको छ ।
पछिल्लो समय बालबच्चासहित भारत जानेको सङ्ख्या बढेपछि स्थानीय खोदमनाथ आधारभूत विद्यालयमा ११० जनाबाट विद्यार्थी सङ्ख्या घटेर ७० मा झरेको विद्यालयका शिक्षक करवीरराम सार्कीले बताए । बस्ती रित्तिएको सूचकका रूपमा घट्दोक्रममा रहेको विद्यार्थी सङ्ख्या हेर्दा थाहा हुने उनले बताए ।
दोगडाकेदारको न्वाली, वनकाँडा र गोबडा गाउँ जिल्लामै सार्की समुदायको बाक्लो बस्तीका रूपमा चिनिन्छ । यहाँ परम्परागत रूपमा हातबाटै छालाको जुत्ता बनाउने सिपालु मानिस थिए । नयाँ पुस्ताले छाला जुत्ताको काम छाडिसकेका छन् । आफ्नो अनुभव सुनाउँदै शिक्षक करवीर रामले भने, “छाला सुकाउनेदेखि प्रशोधन गरेर जुत्ता तयार गर्न एकदेखि डेढ महिना लाग्छ । छाला रङ्ग्याउन मौवाको रुखको बोक्रा, धुङ्यो, गाईको सुकेको गोबर र चुनढुङ्गा पिसेर एक हप्तासम्म पानीमा भिजाइन्छ । यी सबै काम हातबाटै गर्नु पर्दा एक जोर जुत्ता तयार गर्दा एकदेखि डेढ महिना लाग्छ । श्रम अनुसार ज्याला पाइन छाडेपछि नयाँ पुस्ताले छालाको काम सिक्न छाडेर विदेश पलायन हुँदा अहिले पुख्र्यौली सिप लोप हुने अवस्थामा पुगेको छ ।”