काठमाडौं: कञ्चनपुरको दम्पती हत्या घटनामा अनुसन्धानका लागि सिआईबीको टोली पनि आएको छ। प्राविधिक रुपमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले सो घटनामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले पनि टोली पठाएको हो। स्रोतका अनुसार हिजो (मंगलबार) मात्रै सिआईबीमा दुईजना घटनास्थलमा आईपुगेका छन्। जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका छन्। यस अगाडि पनि सो घटनाको अनुसन्धानका लागि छानबिनका काबिल मानिने सई पदम थापालाई त्यहाँ पठाइएको थियो। त्यस अगाडिदेखि जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीको टोलीसहित, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पीआईटी टोली, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको अनुसन्धान टोलीले पनि घटनाको अनुसन्धान थालेका थिए।
तर घटनाको निष्कर्ष निकाल्न जटिलता आएपछि थप अनुसन्धानका लागि थप प्रहरी परिचालन गरिएको हो। यहीँ कार्तिक महिनाको ८ गतेराति लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। सोही घटनामा अहिले प्रहरीले मसिनो अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले घटनाको अनुसन्धान जारी रहेको बताएका छन्।
उनका अनुसार अहिले सूचना संकलन, सोधपुछ लगायतको अनुसन्धान जारी छ। प्रहरीले अहिलेसम्म डेढ सय जनासँग सोधपुछ गरिसकेको छ। मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल चलाउँथे। उनीहरू पसल रहेको घरमा बस्ने गरेका थिए। हत्यापछि रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो।