धनगढी । नेपाली कांग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले जानकारी गराए । कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा क मा सदस्य छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गर्ने इच्छा राखेपनि सम्भव नभएको रावलले बताए । ‘हाम्रो उम्मेदवारलाई सहयोग गर्न सक्नुहुन्छ । कांग्रेसको अरु दलको उम्मेदवारलाई सघाउने अवस्था छैन,’ रावलले भने । कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको गत माघमा निधन भएकाले उक्त पालिकामा उपनिर्वाचन हुन लागेको हो ।
आगामी मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले रिक्त ४४ पदमा उपनिर्वाचन हुँदैछ । नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढि पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति हुने व्यवस्था छ ।