धनगढी: घोडाघोडी तालनजिकै रहेको टेग्नुवा महिला सामुदायिक वनमा बनाइएको वनभोज स्थलमा वनभोज खानेको भरिभराउन देखिन थालेको छ । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडका नन्दा क्षेत्री रोजगारीका लागि परिवारसहित भारतको बैङ्गलोर बस्छन् । दसैँतिहार मनाउन घर आएका बेला उनको परिवारले यस पटक तीन दिनसम्म देउसीभैलो खेलेर रमाइलो ग¥यो । उनि भन्छिन् “श्रीमान् मादल बजाउन सिपालु, हामी नाच्न गाउनमा रमाउने । वर्षभरि भारतमा काम गरेर दुःख गरे पनि घरमा आएपछि परिवार, अरू दाजुभाइ मिलेर भैलो खेल्दा रमाइलो भयो ।” तिहार सकिएलगत्तै देउसीभैलो खेलेर कैलालीका टीकापुर, घोडाघोडीलगायत क्षेत्रमा वनभोज खानेको लर्को नै लाग्ने गरेको छ ।
बर्दगोरिया गाउँपालिका–४, मुडादेखि वनभोज कार्यक्रममा आएका मनसरा साउदले भैलो खेलेर वनभोज खान आएको बताउनुभयो । उहाँले ५० जनाको समूह वनभोज कार्यक्रममा आएको बताए । त्यसै गरी घोडाघोडी नगरपालिका–१, लोहरपुरका जगत नेपाली पनि वनभोज खान घोडाघोडी आएको बताउनुभयो । उहाँले गाउँमा भैलो खेलेर जम्मा भएको रकमले वनभोज कार्यक्रम गरेर रमाइलो गर्न आएको बताए । साना बालबालिका, युवकयुवतीदेखि पाका उमेरका मानिससमेत भैलो खेलेर वनभोज कार्यक्रममा रमाउने गरेका छन् । घोडाघोडी नगरपालिका–१, करैचागाउँका थारू समुदायका महिला आफ्नै पोसाकमा वनभोज कार्यक्रममा रमाइरहेका थिए ।
घोडाघोडीमा वनभोज खान आउने समूहको सवारीसाधन अनुसार शुल्क लिने गरिएको छ । बसको पाँच सय, ट्याक्टरको तीन सय र अटोमा मानिसको सङ्ख्या हेरी दुई सयसम्म लिने गरिएको छ । यसरी घोडाघोडीमा वनभोज स्थलको शुल्कले सामुदायिक वनको समेत राम्रै आम्दानी हुने गरेको छ । टेग्नुवा महिला सामुदायिक वनका अध्यक्ष मैना ढकालले वनभोज कार्यक्रमका लागि कात्तिक र मङ्सिरमा घोडाघोडीमा बढी आउने बताइन्। वनभोज स्थलको शुल्कबाटै सरसफाइ, खानेपानीको व्यवस्था, वन हेरालुको पारिश्रमिक दिने गरेको अध्यक्ष ढकालले जनाए ।