धनगढी : खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीबाट धान खरिद कार्य सुरु गरेको तीन सातामा पाँच हजार क्विन्टल खरिद गरेको छ । खाद्यले कात्तिक ११ गतेदेखि कैलालीमा धान खरिद सुरु गरेको थियो । कैलालीका चार ठाउँ खरिद केन्द्र स्थापना गरेर चालु आर्थिक वर्षका लागि कम्तीमा ५५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेको खाद्य कम्पनीले आइतबारसम्म मोहनपुर गोदाम धनगढीबाट ३२७ क्विन्टल, टीकापुर गोदाममा एक हजार ६८४ क्विन्टल, सत्ती गोदाममा तीन हजार ३०४ क्विन्टल र भजनी खरिद केन्द्रमा १६३ क्विन्टल धान गरिद भएको खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी वरिष्ठ अधिकृत कल्पना विष्टले बताइन् । ‘आइतबारसम्म ५ हजार ४८० क्विन्टल धान खरिद भएको छ,’ उनले भनिन् ।
कम्पनीले गत आर्थिक वर्षमा लक्ष्य अनुसार धान खरिद गर्न सकेको थिएन । अहिलेकै अवस्थाले चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार धान खरिद नहुने देखिएको छ । कम्पनीले गत वर्षको तुलनामा यो वर्ष मूल्यवृद्धि गरे पनि किसानहरु भने गल्ला व्यापारीलाई नै धान बिक्री गरिरहेका छन् । किसानहरू खाद्यमा बिक्री प्रक्रिया झन्झटिलो रहेको भन्दै किसानहरु गल्ला व्यापारीलाई धान बिक्री गरिरहेको बताइरहेका छन् । धेरैजसो किसानहरुले त बिक्री नै गरिसकेको बताएका छन् । किसानहरुका अनुसार खाद्यको बिक्री केन्द्रदेखि टाढा पर्ने गाउँका किसानहरूलाई धान ढुवानी खर्च धेरै लाग्ने, बिक्री केन्द्रमा पुर्याए पनि बिक्री हुने निश्चित नहुने भएकाले किसानहरू गल्ला व्यापारीलाई नै धान बिक्री गर्न सहज हुने गरेको स्थानीय किसानहरू बताउँछन् ।
कम्पनीले मोटा धानको खरिद मूल्य प्रतिक्विन्टल तीन हजार ४१० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । तर कैलारीको हसुलियालगायतका किसानहरूले भने गल्ला व्यापारीलाई प्रतिक्विन्टल ३ हजार ७५ रुपैयाँमै बिक्री गरिसकेको बताएका छन् । गत आर्थिक वर्षमा कम्पनीले मोटा धान प्रतिक्विन्टल ३ हजार १ सय ५८ रुपैयाँमा खरिद गरेको थियो । तर, यस वर्ष भने मूल्य बढाएर प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरिएको वरिष्ठ अधिकृत विष्टले बताइन् ।