कञ्चनपुर — गत वर्षको भदौमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुग्दा बैतडीको दशरथचन्द नगरपालिका–५ भट्टगाउँकी हिमश्वेता भट्टलाई त्यहाँको कृषि प्रविधिले आकर्षित गरेको थियो । केही सिकेर घर फर्किने चाहना हमास समूहको आक्रमणमा परेपछि एक महिना पनि नपुग्दै घर फर्किनुपर्यो । सँगै गएका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीले ज्यान गुमाए । सँगै इजरायल गएका साथी विपिन जोशी अझै बेपत्ता छन् । कृषि प्रविधिबारे सिक्ने लक्ष्यसहित उत्साहित भएर इजरायल पुगेकी भट्ट अचानक घर फकिर्नुपर्दा खिन्न थिइन् । केही दिन त केही सोच्नै सकिनन् । फर्केपछि बरु अनलाइनबाटै इन्टर्नसिप पूरा गरिन् । अध्ययनकै लागि अमेरिका जाने योजना बनाइन् । यसै दौरान वाग्मती प्रदेश लोक सेवा आयोगले कृषि अधिकृतमा विज्ञापन खोलेको थाहा पाइन् । यसअघि कहींकतै लोक सेवा परीक्षामा सहभागी नभएकी उनले म्याद नाघेकाले अतिरिक्त शुल्क तिरेर आवेदन दिइन् । अन्ततः पहिलो प्रयासमै लोक सेवामा नाम निकाल्न सफल पनि भइन् । पहिलो प्रयासमै कृषि अधिकृत भएपछि भट्टलाई अहिले बधाई दिनेको ओइरो छ ।
सानैदेखि पढाइमा अब्बल भट्ट कक्षामा पहिलोरदोस्रो भइरहन्थिन् । अतिरिक्त विषयमा पनि चासो राख्ने उनले लोक सेवा परीक्षा तयारीका किताब पनि पढ्दै आएकी थिइन् । त्यही अध्ययनले नै पहिलो प्रयासमै सफलता मिलेको उनी मान्छिन् । ‘परीक्षाका लागि नै भनेर खासै तयारी गर्न पाएकी थिइनँ, न कतै तयारी कक्षा नै लिएकी थिएँ,’ भट्टले भनिन्, ‘समय गुज्रिसकेकाले आवेदन पनि अतिरिक्त शुल्क तिरेर भरेकी हुँ, तर परीक्षा दिएपछि भने ढुक्क थिएँ ।’ कृषि अधिकृतमा पनि नाम निस्कनेमा उनको परिवार पनि विश्वस्त थियो । कृषि पढ्न भनेर इजरायल गएको एक महिना पनि नहुँदै नेपाली विद्यार्थीमाथि हमासको आक्रमण भयो, केही सिक्न भनी गएकाहरू त्रसित भएर घर फर्कनुपर्यो, छोरी पनि फर्केपछि अमेरिका जान लागेकी थिइन्, मैले नै विदेश फाप्दो रहेनछ भनेर उनलाई लोक सेवामै भिड्न जोड गरेको हुँ । -थिरेन्द्र भट्ट, बुबा
आवेदन दिएपछि करिब ७ महिना काठमाडौंमा बसेर अध्ययन गरेपछि छोरीले अधिकृतको परीक्षा दिएको बुबा थिरेन्द्रले बताए । हिमश्वेताको सानैदेखि रटेरभन्दा पनि लेखेरै बुझ्ने बानी थियो । ‘केही याद गर्नुपरेमा पनि लेख्ने नै बानी हो,’ उनले भनिन्, ‘तर अहिले पनि यसकै लागि भनेर धेरै तयारी भने गरेको थिइनँ ।’ आईएस्सी अध्ययन गरेपछि हिमश्वेतालाई लोक सेवा तयारीसम्बन्धी किताब पढ्ने बानी लागेको थियो । दैनिक एकरदुई घण्टा लोक सेवाका किताबसँगै अतिरिक्त अध्ययनमा ध्यान दिन्थिन् । खाली समयमा अनावश्यक घुम्ने तथा गफगाफ गरेरै दिन बिताउने बानी थिएन । कोरोना संक्रमणका बेला उनले अनलाइनमार्फत पनि अध्ययन गरिन् । त्यतिबेला उनी १२ कक्षामा थिइन् । अनलाइन अध्ययन गर्दा उनी सामान्य ज्ञानमा ध्यान दिन थालेकी हुन् । प्रायः पढाइमै व्यस्त हुने उनी बिहान ५ बजे उठेर पढ्न बसिहाल्थिन्, बीचमा एकाध घण्टा विश्राम लिनेबाहेक यो क्रम राति १० बजेसम्मै चलिरहन्थ्यो ।
वाग्मती प्रदेश लोक सेवाले खोलेको विज्ञापनअनुसार उनले गत वर्ष पुसमा महिला कोटामा आवेदन दिएकी थिइन् । चैतमा लिखित परीक्षा भएको थियो । भदौ अन्तिममा नतिजा आउँदा उनीसहित ३५ जना पास भएका थिए । लिखितमा पास भएकाको असोज २० मा मौखिक परीक्षा भयो । कात्तिक ६ मा आएको नतिजामा अधिकृतमा नाम निस्केपछि कात्तिक ११ मा नियुक्ति बुझेर उनी मकवानपुरको बकैया गाउँपालिकामा हाजिर भइसकेकी छन् । इजरायलमा कृषि सिक्न गएकी उनले अब बकैया गाउँपालिकामा आफ्नो प्राविधिक ज्ञानलाई दर्शाउनुपर्ने चुनौती आएको छ । पालिकाले कृषिलाई प्राथमिकता दिएको उनले बताइन् । यसकारण पनि उनले कृषिसम्बन्धी राम्रा योजना निर्माणदेखि कृषकलाई समेत प्राविधिक सेवा दिनुपर्नेछ । पढाइमा देखिएको अब्बलताको अनुभव अब व्यवहारमा देखाउनुपर्नेछ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा कृषि संकायमा स्नातक तह अध्ययन गरिरहेकै बेला उनी इजरायल पुगेकी थिइन् । विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको क्षेत्र भन्दा उनी बसेको क्षेत्र टाढा त थियो, तर पनि परिवारको कर र सबै विद्यार्थी फर्किन थालेपछि उनी पनि घर फर्किइन् । इजरायलमा हुँदा आक्रमणका बेला बजाइने साइरन अहिले पनि उनको कानमा गुन्जिरहन्छ । तर हमास समूहले आक्रमण गरेको क्षेत्रभन्दा टाढा भएकाले त्यति धेरै नडराएको उनले बताइन् । ‘बंकरमा लुकेर त बस्नुपरेन, तर साइरन बजिरहन्थ्यो, त्यहीअनुसार सुरक्षित हुनुपर्थ्यो,’ भट्टले भनिन्, ‘हाम्रो बसाइँ घटनास्थलभन्दा निकै टाढा बीचबस्तीमा थियो, त्यही भएर सुरक्षित छौं भन्ने लागेको थियो ।’ हमास समूहले आक्रमण गरेको अलिमुम किबुजमा उनी घटना हुनुभन्दा केही दिनअघि एक घण्टाको बस यात्रामा साथीभाइलाई भेट्न पुगेकी थिइन् । आफू फर्केको तीनरचार दिनमै नेपाली विद्यार्थीमाथि आक्रमण भएको सुन्दा निकै आत्तिएको उनले बताइन् । घटना टाढा भएकाले कसरी सुरक्षित स्थानमा जाने र कसरी जोगिनेलगायतको कुरा थाहा पाउँदा सजिलो भएको उनले बताइन् । ‘घरपरिवार र आफन्तहरू धेरै आत्तिएका थिए, तर हामी नियमित काममा थियौं,’ भट्टले भनिन्, ‘सरकारले सबैलाई ल्याउन थालेपछि हामी पनि फर्कियौं, परिवारको पनि दबाब थियो ।’ उनले घर फर्केपछि नै अनलाइनबाट इन्टर्नसिप र थेसिस पूरा गरिन् ।
बैतडीको दशरथचन्द नगरपालिका घर भएकी २२ वर्षीया भट्टले सानैदेखि महेन्द्रनगरमा मामाघरमा बसेर अध्ययन गरेकी हुन् । उनका बुबा थिरेन्द्र कञ्चनपुरकै बेदकोट नगरपालिकामा निमावि तहका शिक्षक हुन् । आमा गीतादेवी निजी विद्यालयमा पढाउँछिन् । सानैदेखि पढाइमा अब्बल उनले एसएलसी उत्तीर्ण गर्दासम्म ४ वटा विद्यालय परिवर्तन गरिन् । महेन्द्रनगरकै राष्ट्रिय बाल विद्यालयबाट पठनपाठन सुरु गरेकी उनले त्यसपछि महेन्द्रनगरकै महाकाली बाल विद्यालय, सान इन्टरनेसनल र इन्टरनेसनल लगायतका विद्यालयमा पढिन् । महेन्द्रनगरकै रेडियन्ट उच्च माविबाट आईएस्सी गरेकी भट्टले चिकित्सा शिक्षा (एमबीबीएस) का लागि पनि परीक्षा दिएकी थिइन् । तर छात्रवृत्तिमा नपरेपछि चिकित्सा शिक्षातर्फ मन मारेर उनले कृषि विज्ञान रोजेकी हुन् । अहिले पनि उनी त्रिभुवन विश्वविद्यालयमा कृषि संकायमै स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत छिन् । त्रिभुवन विश्वविद्यालयमा पनि उनी प्रवेश परीक्षामा पास भएका ७६ मध्ये दोस्रो भइन् । अहिले पूर्ण छात्रवृत्तिमा कृषि संकायमै अध्ययन गरिरहेकी छन् ।
सानैदेखि मामाघरमै बसेर पढेका कारण उनले घर र मामाघर दुवैको साथ र माया पाइन् । बुबाआमा र मावली बाजेबज्यैबाट प्राप्त भएको हौसलाबाटै उनी अहिलेको अवस्थामा पुगेको बताउँछिन् । ‘सबैभन्दा ठूलो कुरा त बुबाकै काम र मिहिनेतबाट प्रभावित भएर अहिलेको स्थानमा पुगेकी हुँ,’ उनले भनिन्, ‘त्यसपछि म जे गर्थें, त्यो मनैबाट गर्ने भएकाले सफल हुन सकें ।’ बुबा थिरेन्द्रले पनि जेठी छोरी सानैदेखि पढाइमा मेधावी र जहिल्यै राम्रै पोजिसनमा पास हुने गरेको बताउँदै थपे, ‘लगनशील र आज्ञाकारी पनि छ ।’ कृषि अधिकृतमा नाम निस्कनेबित्तिक्कै पहिलो फोन बुबालाई नै गरेकी हिमश्वेताले त्यसपछि आमा र मावली बाजेबज्यैलाई फोन गरेर खुसी साटेकी थिइन् । इजरायलबाट फर्केर हिमश्वेताले अध्ययनका लागि अमेरिका जाने योजना बनाएकी थिइन् । त्यही अनुसार तयारी पनि गरिरहेकी थिइन् । तर उनका बुबा थिरेन्द्र छोरीलाई विदेश पठाउन चाहँदैनथे । पहिलो पटक विदेश ९इजरायल० जाँदा नै दुःख पाइएकाले उनी छोरीलाई फेरि पठाउन चाहँदैनथे । ‘सुरुमै समस्या भयो, पढ्न गएका विद्यार्थीमाथि आक्रमण भयो, सिकेर आउन गएका त्रसित भएर घर फर्कनुपर्यो,’ उनले भने, ‘त्यही भएर छोरीलाई विदेश फाप्दैन भनेर मैले नै लोक सेवामै जोड दिन आग्रह गरेको हुँ ।’
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ०८० भदौमा इजरायल पुगेको एक महिना नबित्दै नेपाली विद्यार्थी भएकै क्षेत्रमा हमास समूहले आक्रमण गरेको थियो । जसमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयकै विद्यार्थी विपिन जोशी अझै बेपत्ता छन् । महेन्द्रनगर बजारनजिकै भीमदत्त नगरपालिका–३ भाँसीमा जोशीको बसोबास भएका कारण पनि उक्त घटनाले बेलाबेलामा झस्काइरहन्छ । हमास समूहले इजरायलमा आक्रमण गर्दा सँगै गएका साथीभाइको मृत्यु भएपछि घर फर्किन बाध्य भएकी हिमश्वेताले उक्त त्रासबाट मुक्त भएर लोक सेवामा नाम निकाल्दा घरपरिवारदेखि साथीभाइ सबै खुसी छन् । पहिलो प्रयासमै अधिकृतमा नाम निकालेर उनले घरपरिवारलाई खुसी मात्रै दिएकी छैनन्, धेरैका लागि प्रेरणाको स्रोत पनि बनेकी छन् । कान्तिपुरबाट