धनगढी: धनगढी उपमहानगरिय प्रहरी बल नागरिकका हरेक समस्याको सारथी बन्दै छ । स्थानिय तह २०७९ को निर्वाचन पछि उपमहानगरिय प्रहरीको संख्यालाई उल्लेख्य रुपमा बढाए सगैं हाल नागरिकका हरेक समस्यामा नगर प्रहरी पुग्न थालेको छ । धनगढी उपमहानगरपालिका भित्र मात्रै नभएर छिमेकी पालिकाका नागरिकलाई समेत उपमहानगरिय प्रहरी बलले सेवा दिइरहेको छ । उपमहानगरिय प्रहरी बलले सर्प उद्धार, बाढी पिडितको उद्धार, सरसफाई, अलपत्र नागरिकको उद्धार, मृतकका घरमा दाह संस्कार खर्च पुगाउने लगायत नगरबासीका प्रत्येक समस्या समाधान गर्ने गरेको छ । ‘हर घडी नगर प्रहरी’ भन्ने नारा दिएर प्रभावकारी बन्दै गएको उपमहानगरिक प्रहरी बलले पछिल्लो समय सडक नागरिकको उद्धारलाई पनि प्रार्थमिकता दिएको छ ।
बिहिबार मात्रै उपमहानगरिक प्रहरीले भारतको आजमगड, खैराग्राम युपी घर भएका अजयकुमार यादवलाई अस्वस्थ अवस्थामा धनगढी–८ भगत टोलबाट उद्धार गरेको छ । स्थानीयले उपमहानगरपालिकामा खबर गरेपछि नगरप्रहरीले उद्धार गरेर यादवलाई मानव सेवा आश्रममा बुझायो । यस्तै धनगढी–१८ फुलबारी चेलीबेटी चोकदेखि २ किलोमिटर पुर्वबाट अलपत्र अवस्थामा फेला परेकी २८ वर्षीया शान्तिकुमारी चन्द सिंह र धनगढी–१८ को आदर्श चोकबाट अन्दाजी ४० वर्षीया सिता पार्की नाम बताउने महिलालाई अलपत्र अवस्थामा नगरप्रहरीले उद्धार ग¥यो । यी दुबै जनालाई नगरप्रहरीले उद्धार गरेर धनगढी–५ तारानगरमा मानव सेवा आश्रामको जिम्मा लगाएको छ । यसरी नै सडकमा अलपत्र परेका ४० जनालाई नगर प्रहरीले उद्धार गरिसकेको छ। कुनै व्यक्ति बिरामी हुँदा अस्पताल पुगाउनेदेखि अन्तिम दाहसंस्कारमा समेत नगर प्रहरीले सहयोग गर्दै आएको छ ।
नगर क्षेत्रबाट सहयोगका लागि फोन आउने बित्तिकै नगर प्रहरी सहयोग गर्न तत्काल खटिने व्यवस्था मिलाइएको धनगढी नगर प्रहरी प्रमुख धर्मानन्द जोशीले बताए । जोशीका अनुसार दैबीप्रकोपदेखि नगरक्षेत्रमा अलपत्र परेका तथा बिरामी हुँदा उपचार गर्न अस्पताल लैजाने÷ल्याउनेसम्मको काम हुँदै आएको छ । आफूलाई परेको समस्या धनगढी नगर प्रहरी बललाई जानकारी गराउनेवित्तिकै आवश्यकता अनुसार नागरिकलाई सेवा दिने गरेको जोशीको भनाई छ । उपमहानगरभित्र हाल ४४ जना नगर प्रहरी कार्यरत छन् ।