काठमाडौं: एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली चीन जान लागेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको औपचारिक विदेश भ्रमणको थालनी यसपटक चीनबाट हुन लागेको सन्दर्भमा त्यसअघि नै पोखरेल नेतृत्वको टोली उता जान लागेको हो। प्रधानमन्त्री ओली मंसिर तेस्रो साता औपचारिक भ्रमणमा बेइजिङ्ग जाँदै छन्। पोखरेल नेतृत्वको टोली कात्तिक २६ गते चीन प्रस्थान गर्नेछ । टोलीमा पोखरेलबाहेक एमाले सचिव समेत रहेका नेता लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यहरू शान्ति ढकाल, सरिता भुसाल, टङ्कप्रसाद बराल रहेका छन् ।
त्यस्तै नेताहरू राजकुमार भण्डारी, मुहम्मद कैस, दीपक ज्ञवाली, रोशनी मेचे, पूजन न्यौपाने, आशिस जोशी रेग्मी, सम्झना देवकोटा, सानुराजा पोखरेल र दीपेन्द्र श्रेष्ठ पनि भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा चीन जान लागेका नेताहरूले बेइजिङ लगायतका प्रान्तको भ्रमण गर्नेछन् । ‘प्रधानमन्त्रीको भ्रमण भन्दा पहिले नै अन्य नेताको भ्रमण तय भएको हो । त्यसैले प्रधानमन्त्रीको भ्रमणसँग यो भ्रमणको कुनै सम्बन्ध छैन’, पोखरेल नेतृत्वको टोलीमा रहेका एक नेताले भने, ‘प्रधानमन्त्री चीन जानुअघि हामी फर्किसकेका हुन्छौ ।’ पोखरेल नेतृत्वको टोली मङ्सिर १० गते स्वदेश फर्कनेछ ।
यसैबिच एमाले सचिव रघुवीर महासेठको नेतृत्वको एक टोली नोभेम्बरको अन्तिम साता कम्बोडिया जाने भएको छ । महासेठ नेतृत्वको टोली आइक्यापको सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको हो ।