घोडाघोडी:नदीजन्य पदार्थको रोयल्टी स्थानीय तहका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । स्थानीय तहले खोला, नदी ठेक्कामा लगाएर रोयल्टी उठाउने गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कान्द्रा, कन्द्री, टेग्ना, डोडा र झिँगे झालाखोलाको एकमुस्ट पटक पटक ठेक्का आह्वान गर्दा पनि हालसम्म ठेक्का लाग्न सकेको छैन । घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले असोज १ देखि रोयल्टी उठाउने गरेर ठेक्का आह्वान गर्दा पनि कसैको ठेक्का नपरेको बताए ।
स्थानीय तहले दुई/दुई वर्षमा वातावरणीय प्रभाव मूल्याङ्कनपछि नदीजन्य पदार्थ उत्खननका लागि ठेक्कामा दिने गरेका छन् । घोडाघोडीमा यस वर्ष वातावरण मूल्याङ्कन प्रभाव अध्ययनपछि उत्खननको परिमाण बढेपछि गत वर्षभन्दा झन्डै दोब्बर रोयल्टी सङ्कलनको अपेक्षासहित ठेक्का आह्वान गरिएको नगरपालिकाले जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहले गत वर्ष एक लाख ६२ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि चार करोड रुपियाँमा ठेक्का दिएको जनाउँदै यस वर्ष तीन लाख ७८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि आठ करोड रुपियाँमा ठेक्का आह्वान गर्दा कसैको ठेक्का नपरेको बताए ।
एकमुस्ट ठेक्काका लागि ठुलो रकम भएपछि अहिले छुट्टाछुट्टै खोला ठेक्कामा लिन सकिने गरेर ठेक्का आह्वान गरिएको जनाइएको छ । आव २०७९र८० मा ११९ रुपियाँ प्रतिघनमिटर दर कायम भएको नदीजन्य पदार्थको मूल्य आव २०८०/८१ मा २३९ रुपियाँ प्रतिघनमिटर भएपछि ठेकेदार कम्पनीले ठेक्का लिन नसकेको गुनासो गरेका छन् । आव २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक विधेयकमै नदीजन्य पदार्थको रोयल्टी निर्धारण गरेपछि सोहीलाई आधार मानेर स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का प्रक्रियाबाट काम थालेका हुन् । असोजदेखि जेठ महिनासम्म नदीजन्य पदार्थ उत्खननका लागि स्थानीय तहले ठेक्का आह्वान गर्ने गर्दछन् ।