बैतडी: छालाको गिर (भकुण्डो) खेलेर यहाँको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला मनाइएको छ । कात्तिक सप्तमीको रातिदेखि सुरु भएको मेला अष्टमीको बिहान मन्दिरमा विधिवत् पूजाआजा गरी छालाको गिर खेलेर मनाइएको हो । शिवनाथ गाउँपालिका–६,मा रहेको प्रसिद्ध शिवनाथ मन्दिरमा मेला लाग्नु अघि धामी र पुजारीले स्थानीय भानमति धारामा नुहाएर आएपछि मेला शुभारम्भ हुन्छ । मेलाको असरमा शुक्रवार गाउँपालिकाले बिदा दिएको छ । शिवनाथ गाउँपालिका–५, कफाडी मन्दिरमा दशैंकाँ बेला बलि दिएको पहिलो राँगाको छालाबाट स्थानीय पहरी जातीले परालको भुस राखेर छालाको गिर बनाउने चलन छ । तयार भएको गिर दामाहा बजाउँदै सप्तमीको बेलुकी मन्दिरमा लगेर धनाडी क्षेत्री र दमाई जातीका व्यक्तिलाई बुझाउने चलन रहेको छ । बेलुकी मन्दिरमा पुर्याईएको गिर अष्टमीको बिहान दर्शनार्थीले एक आपसमा खोसाखोस गरेर खेल्ने गर्छन् ।
यसअघि स्थानीय धनाडी र साउद जातीकाबिचमा मात्रै प्रतिस्पर्धा हुने गरेकोमा पछिल्लो समय मन्दिर दर्श गर्न आउने सबैले सामूहिक रूपमा खेल्ने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । मेलामा छिमेकी मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाट दमाहा बजाएर जात्रा आउने गरेको छ । त्यसैगरि, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र भारतको उत्तराखण्ड राज्यबाट समेत दर्शनार्थी आउने गरेका छन् । शिवनाथमा असोज नवरात्र, चैत नवरात्र,असार र साउन महिनामासमेत मेला लाग्ने गर्छ । कात्तिक सप्तमी र अष्टमीका दिन लाग्ने मेलामा छालाको गिर खेल्ने भएकाले यो मेलामा दर्शनार्थीको बढी घुइँचो लाग्ने गरेको गर्दछ । शिवनाथ गाउँपालिका–५, कफाडीबाट पहरी जाति र ठकुरीहरूको सामूहिक देउरोसँग छालाबाट बनेको भकुण्डो (गिर) खेल्दै जाने गरेको दृश्य आकर्षक हुने गरेको छ ।