धनगढी: उत्तरी ध्रुवको साइबेरिया, मङ्गोलिया र रसियामा हुने अत्यधिक चिसो छल्न सो क्षेत्रका चरा नेपालका सिमसारमा आइपुगेका छन् । विभिन्न प्रजातिका जलपन्छी जाडोयाम बिताउन कैलाली र कञ्चनपुरमा रहेका सिमसारमा आइपुगेका हुन् । आगन्तुक ती चराको थातथलोमा अत्यधिक हिउँ परेर खान, बस्न समस्या हुने गरेका कारण जाडोयाममै यहाँका सिमसारमा आउने गरेका छन् । कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा रहेको घोडाघोडी तालसहित तल्लो कर्णाली तटीय क्षेत्र, कञ्चनपुरको पुरैनी ताललगायतका सिमसारमा आगन्तुक चरा आइपुगेका हुन् । नेपालको भन्दा साइबेरिया, मङ्गोलिया र रसियामा अत्यधिक चिसो हुने गरेका कारण चिसो छल्न त्यहाँका चरा यहाँ आउने गरेको चराविद् हिरूलाल डङ्गौराले बताए । उनका अनुसार मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ« हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस ठुलो जलेवा, चखेवालगायतका आगन्तुक चरा नेपालका सिमसारमा आइसकेका छन् । तालतलैया तथा नदीनालामा आगन्तुक चराको चहलपहल बढेको छ ।
डङ्गौराले भने, “अबको छरसात महिना आगन्तुक चरा यतै रहन्छन् ।” आगन्तुक चरा आएपछि सिमसारमा रौनक थपिएको छ । विभिन्न प्रजातिका चराको आवाजले नदीनाला तथा तालतलैया गुल्जार बनेका छन् । यहाँ आएका चरा मार्च, अप्रिलतिर पुनः आफ्नो थातथलोतिर फर्कने गरेका छन् । हिउँदयाममा हरेक वर्ष आगन्तुक जलपन्छीको गणना हुने गर्छ । नेपालका विभिन्न सिमसारमा हरेक वर्ष आगन्तुक जलपन्छी आउने गरे पनि सङ्ख्या भने घट्दै गइरहेको चराविद्को भनाइ छ । विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमै आगन्तुक पानीचरा पहिलेभन्दा अहिले कम आउने गरेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष एवं चराविद् डिआर चौधरीले बताए ।
घोडाघोडीमा चराको बासस्थान मासिनु, सिमसारको स्वरूप बिग्रिनु र खानाको कमी हुनु सङ्ख्या घट्दै जानुको मुख्य कारण रहेको उनको तर्क छ । घोडाघोडीमा संरक्षणकै नाममा चराहरू घटिरहेको उहाँले जिकिर गरे । चौधरीले भने, “व्यवस्थापनका नाममा झारपात र घाँस उम्रेर चरा बस्ने, रमाउने, खाना खोज्ने ठाउँ छैन ।” घोडाघोडी ताललाई कमलले ढाकिसकेको छ । त्यस्तै तालको उत्तरतर्फको भागमा मिचाहा प्रजातिको वनस्पति बढेको छ । तालभित्रै धेरै झारपात उम्रेर अक्सिजनको कमी भएको चौधरीको दाबी छ । उहाँले समुद्रको खुला पानीमा रमाएर आउने चराका लागि खेल्ने, बस्ने उपयुक्त ठाउँ नरहेको उल्लेख गर्नुभयो । चौधरीले भने, “सिमसार क्षेत्र नै फरक भएका कारण आगन्तुक चरा घटिरहेका छन् ।”
चराको बसोबास व्यवस्थापनका लागि घोडाघोडी तालको बिच भागमा रहेको झारपात निकाल्नुपर्ने चराविद्को भनाइ छ । यसै गरी तालको एकातिर घाँसे मैदान र अर्कातिर छिपछिपे पानीसहित सिमसार व्यवस्थापन गर्न आवश्यक रहेको औँल्याइएको छ ।