धनगढी: कैलालीको गोदावरी नगरपालिका सहित कैलाली कञ्चनपुरका ७ पालिकाबाट ७ लाख बढीको अवैध सामान बरामद गरिएको छ । शुक्रबार प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ७ लाख २१ हजार ४४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।धनगढी उपमहानगरपालिका – ३ मिलन चोक, धनगढी उपमहानगरपालिका – १८ थापाघाट, गोदावरी नगरपालिका – ४ भिमदत्त राजमार्ग बनदेबि मन्दिर नजिक, टीकापुर नगरपालिका – ९ ठोसे बजार स्थित भित्री सडक खण्ड र जोशीपुर गाउँपालिका – ३ भितरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २ लाख ९५ हजार ४६० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जस अन्तरगत प्याज, चिनी, मिश्री, गुड, साबुन, मिठाई, सुर्ती, बिडी, बदाम, ब्लाउज, कुर्ति, सुट, हरियो खुर्सानी, चुरन, अटोका लक, अटोका हरन लगायतका सामानहरु रहेका थिए ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – १० भन्सार कार्यालय नजिक, दोधारा चाँदनी नगरपालिका – ४ चाँदनी बजार र बेलौरी नगरपालिका – ६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका ४ लाख २५ हजार ९८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । जसअन्तरगत सुर्ती, सुट कपडा, स्विटर, ज्याकेट, मुक्लर, कुर्ती, रुमाल, थान कपडा, मल, पोटास, कस्मेटिक, किरानाका सामान, मोटरसाइकल लगायतका सामानहरु रहेको प्रहरीले जनाएको छ ।