कैलाली: कैलालीको सुखड–भजनी सडक खण्डका लागि दुई चरणमा टेण्डर भई सडक चौडा तथा कालोपत्रे गर्ने काम सम्पन्न पनि बिच खण्डमा पर्ने चारकिलो मिटर सडक कालोपत्रेका लागि छुटेको छ । पहिलो चरणमा भजनी नगरपालिकाको भजनी बजारदेखि सुखड खण्डको बिजुलिया सम्म १० किलोमिटर सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७६/७७ बाट भजनीबाट निर्माण सुरु भई कार्य सम्पन्न भएको छ । त्यसैगरी दोस्रो चरणमा आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको घोडाघोडी नगरपालिका सुखडदेखि कीर्तिपुर जङ्गलसम्म सडक कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ ।
तर कीर्तिपुर जङ्गलदेखि बिजुलिया गाउँसम्मको चार किलोमिटर सडक खण्ड हालसम्म कालोपत्रे हुन नसक्दा उक्त सडकमा यात्रा गर्ने यात्रुहरूले सडक खाल्डाखुल्डीका कारण यात्रा सकस हुनुको साथै दुर्घटना हुने गरेको छ । उभजनी नगरपालिका वडा ४ का वडाध्यक्ष जन्ताराम चौधरीले कालोपत्रे हुन नसकेको सडकमा वर्षायाममा वडाको बजेटले सामान्य ग्राभेल, खाल्डाखुल्डी भर्ने काम गरेको बताए । उनले कालोपत्रेका लागि प्रदेश सरकारसँग पटक पटक आग्रह गर्दै लिखित माग गरेको समेत जनाए ।